५ चैत, धादिङ –
धादिङको गल्छी गाउँपालिका वडा न. १ दलाङमा निर्माण गरिएको भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी धादिङले निर्माण गरेकोे जालपा देबी आधारभुत विद्यालय भवनको सोमबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।
दलित बस्ती धेरै रहेको यस भेगमा भूकम्पपछि विद्यालय भवन भत्किएको थियो । लामो समयदेखि विद्यालय भवनको अभाव खेपिरहेका शिक्षक तथा विद्यार्थीहरुले नयाँ भवन पाएका हुन् ।
८ कोठाको भवन, शौचालय, फर्निचर, खेलकुद सामाग्री समेतको ६७ लाख ५३ हजार ४ सय ४७ रुपैयाँको लागतमा भवन निर्माण गरिएको विद्यालयले जनाएको छ । अतिगरिब दलितहरुको बस्तीको बिचमा निर्माण भएको बिद्यालयमा ८५ विद्यार्थी अध्ययनरत रहेका छन् ।
भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ, उपाध्यक्ष राधा तिमल्सीना, साविक कल्लेरी गाविसका पूर्व अध्यक्ष केदार खतिवडा, वडा अध्यक्ष पूर्ण प्रसाद खतिवडा लगायतले भवन निर्माण पछि विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आग्रह गरेका थिए ।
२०७५ चैत ५ गते प्रकाशित