
४ चैत, काठमाडौँ –
इन्डोनेसियामा आएको बाढीले कम्तीमा ७३ जनाको ज्यान गएको छ । ६० जना हराइरहेका छन् । पूर्वी प्रान्त पपुआमा शनिबार साँझबाट सुरु भएको भीषण वर्षाले बाढी आएको र कैयन हताहत भएको बीबीसीले जनाएको छ ।
इन्डोनेसियाको राष्ट्रिय विपद् निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोलाई कोट गर्दै रोएटर्सले सेन्तानीमा मात्रै कम्तीमा ५१ जनाको ज्यान गएको जनाएको छ । बाढीले प्रान्तीय राजधानी जयपुरामै ७ जनाको ज्यान लिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार, १ सय घरमा क्षति पुगेको छ । लगातारको वर्षाले बाढीको खतरा बढेपछि जोखिमयुक्त स्थानका बासिन्दालाई सरकारले सुरक्षित स्थान रोज्न भनेको छ ।
बीबीसीका अनुसार, करिब ४ हजारले बासस्थान छाडेर सुरक्षित स्थान रोजिसकेका छन् । यसरी सुरक्षित स्थान रोजेका कतिपयलाई सरकारी अड्डाहरुमा आश्रय दिइएको छ ।
बाढीग्रस्त क्षेत्रमा कैयन हताहती भएको अनुमान गरिएको छ । तर, ती क्षेत्रहरुमा सिर्जित प्रतिकूलताका कारण उद्धार टोली पुग्न सकेको छैन । बीबीसीका अनुसार, बाढीले पुल तथा सडकहरु भत्किँदा उद्धारकर्ताहरू बाढीग्रस्त क्षेत्रमा पुग्न असुविधा झेलिरहेका छन् ।
२०७५ चैत ४ गते प्रकाशित