२६ माघ, धादिङ –
सदरमुकाम धादिङबेसीको रायटारमा धादिङ पर्यटन तथा औद्योगिक मेला हुने भएको छ । आगामी फागुन १६ देखि २६ गते सम्म जिल्ला होटल संघ धादिङको आयोजनामा मेला हुन लागेको हो । मेलाको बारेमा शनिबार धादिङबेसीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।
पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार तथा व्यवसायहरुलाई प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्धेश्यले मेलाको आयोजना गरिएको जिल्ला होटल संघ धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
मेलामा जिल्लामा उत्पादित जडिबुटीको प्रदर्शनी गरी बिक्रि र बजारीकरण, जिल्लाका १३ वटै स्थानीय तहका विभिन्न जातीका खानाका परिकार, जिल्लाको पर्यटकीय क्षेत्रहरुका साथै कला, साहित्य, संस्कृति, सभ्यताहरुको प्रचार प्रसार, हस्तकला तथा घरेलु सामानको प्रदर्शनी, विभिन्न क्षेत्रका प्रदर्शनी तथा मनोरन्जनात्मक प्रस्तुतीहरु रहने छन् ।
‘अतिथि देवो भव– पर्यटकको स्वागत सत्कार हाम्रो शान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो भन्ने नारा सहित हुन लागेको मेलाको तयारी तीब्र गरिएको छ । मेलामा जिल्लामा पाईने खानाका परिकार, तरकारी, मौरीको मह, घ्यु, माछा, सुन्तला, कुखुरा, च्याउका साथै कृषीजन्य, दुग्धजन्य तथा उत्पादनको प्रर्दशनी, जिल्लामा पाईने जडिबुटी र तिनको उपयोगिता सम्वन्धी प्रदर्शनी, दैनिक जिवनका लागि उपयोगी विभिन्न आधुनिक यन्त्र, उपकरणको प्रदर्शनीमा राखिने संघका महासचिव राजन दनाईले जानकारी दिए ।
२०७५ माघ २६ गते प्रकाशित