
११ माघ, काठमाडौं
राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको गलफतीमा फसेको प्रतिनिधिसभाले विवादकै बीच यसलाई पारित गर्ने तयारी गरेको छ । शुक्रबारका लागि बोलाइएको बैठककबाट विधेयक पारित गर्ने कार्यसूची संसद् बैठकले तय गरेको हो । संघीय संसद्का महासचिव मनोहर भट्टराईले आजको बैठकको कार्यसूची चिकित्सा शिक्षा विधेयक पेस तथा पारित गर्ने रहेको जानकारी दिए ।
संसदले विधेयक अघि बढाउने तयारी गरे पनि कांग्रेस यसलाई अघि बढ्न नदिने रणनीतिमा छ । विगतका सहमतिबाट पछि हट्दै सरकारले बेइमानीपूर्वक विधेयक तयार पारेकाले त्यसमा संशोधन हुनुपर्ने माग कांग्रेसको छ ।
विपक्षीले पेलेको भन्दै उसले त्यसको प्रतिक्रियास्वरुप संसदमा अवरोध गर्दै आइरहेको छ । गत मंगलबार र बुधबार विधेयक पेस गर्न सभामुख कृष्णबहादुर महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिए पनि कांग्रेसको अवरोधले रोकिएको थियो ।
सभामुख कृष्णबहादुर महराले बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शान्तिपूर्ण रुपमा विधेयक पारित गर्न छलफल भइरहेको बताएका थिए । यद्यपि, योबीचमा सत्तापक्ष र प्रतिपक्षबीच ठोस सहमति बन्न सकेको छैन ।
२०७५ माघ ११ गते प्रकाशित