

१० माघ, धादिङ –
आगामी फागुन ५, ६ र ७ गते धादिङ बेसिमा डण्डीबियो प्रतियोगिता हुने भएको छ । जिल्ला स्काउट कार्यालय र नेपाल डण्डीबियो संघको आयोजनामा विद्यालय स्तरीय डण्डीबियो प्रतियोगिता हुने जानकारी गराइएको छ ।
माघ २५ गते भित्र समूह दर्ता गराइसक्नुपर्ने डण्डीबियो संघका राजकुमार श्रेष्ठले जानकारी दिए । लोप हुन लागेको सो खेललाई संरक्षण गर्न आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्धितीय हुनेले रु ३० हजार, तृतिय हुनेले रु २० हजार र सान्त्वना हुने समूहले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
सो खेल हराउन लागेको र यसका नियम समेत जानकारी नभएको अवस्थामा सहभागि हुन चाहने विद्यालयले यही माघ १९ गते सहभागी एक विद्यार्थीसहित शिक्षकले प्रशिक्षण लिन आउन स्काउटले आब्हान गरेको छ ।
२०७५ माघ १० गते प्रकाशित