सरिता श्रेष्ठ /३ माघ, धादिङ –
सम्म परेको फाँट, हरियाली देखिने तरकारी खेतीले यहाँ पुग्ने जो कोहीलाई पनि आनन्दित तुल्याउने गर्दछ । छिट्टफुट्ट बस्ती वरिपरि हरिया तरकारीले गाउँ नै हरियाली देखिने गर्दछ । पृथ्वी राजमार्गबाट करीब आधा घण्टा पैदल हिडेपछि पुग्न सकिन्छ बेनिघाट रोराङ गाउँपालिका –९, फजिमटार बस्तीमा । यहाँका अधिकांश मानिसहरु कृषि पेशामा आबद्ध छन् । पुस्तौदेखि नै तरकारी खेती गरेर रमाइरहेका छन् ।
पेशाले शिक्षक फजिमटारका गंगा खाँड ठकुरीले चार रोपनी जग्गामा तरकारी खेती गरेका छन् । सम्म परेको फाँटमा बन्दा, काउली, मुला लगायतका तरकारी लगाएका छन् भने टनेल (प्लास्टिकको घर) भित्र गोलभेडा लगाएका छन् । बाह्रै मास तरकारी खेती गरेर आम्दानी गर्ने गर्दछ । सिजन अनुसारका तरकारी लगाउँछन् भने बेमौसमी खेती पनि गर्ने गरेको ठकुरी बताउँछन् ।
आफ्नो भएको जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका उनलाई अहिले तरकारी खेतीको स्याहारसुसार गर्न भ्याइनभ्याई छ । बारीभरी लगाइएको हरिया तरकारीबालीले मनै आनन्दित बनाउने गरेको उनको भनाई छ । यी तरकारी एकदिन बिराई टिप्ने गर्छन् । टिपेका तरकारी जोगीमारास्थित तरकारी संकलन केन्द्रमा लैजाने गर्दछ । गाउँमै गाडी पुग्ने भएका कारण पनि टिपेका तरकारी संकलन केन्द्रसम्म लैजान सजिलो भएको ठकुरीले बताए ।
ठकुरी स्थानीय पन्चायत आधारभूत विद्यालयका शिक्षक पनि हुन् । विज्ञान र अंग्रेजी विषय पढाउँदै आएका उनी बिहान, बेलुका र बिदाको समय तरकारी खेतीलाई समय दिन्छन् । प्रशस्त धन कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने मान्यता बोकेका युवालाई ठकुरीले चुनौती समेत दिएका छन् । ‘धन कमाई हुने आशमा धेरै युवाहरु विदेशिएका छन’्, ठकुरीले भने, ‘बारीमा लगाएको तरकारीले महिनामा ४० हजारसम्म कमाई हुन्छ ।’ उनले तीनवटा टनेलमा गोलभेडा लगाएका छन् । टनेलमा बाह्रैमास गोलभेँडा खेती, मौसम अनुसारका तरकारी लगाउने गर्दछन् ।
पुस्तौदेखि कृषि पेशा अंगालिरहेका उनका परिवारले कृषिलाई नै मुख्य पेशा बनाएर अंगालिरहेका छन् । सुरुसुरुमा दैनिक छाक टार्न मात्रै तरकारी लगाउने गथ्ये । २० वर्ष भयो उनले तरकारी खेती अंगालेको । केही वर्षदेखि व्यावसायिक रुपमा नै तरकारी खेती गर्न थालेका हुन् । गाउँमै नमुना किसानका परिचय बनाएका ठकुरीले आगामी दिनमा कृषि क्षेत्रलाई निरन्तरता दिने र सामाजिक क्षेत्रमा लगानी गर्ने योजना बुनेको सुनाए ।
४० घरधुरी रहेको फजिमटारका प्राय किसानको दैनिकी तरकारी खेतीमा नै बित्ने गर्छ । यहाँका प्राय सबै किसानले बेमौसमी तरकारी खेती गर्ने गरेका छन् । यहाँका किसान पछिल्लो समय बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । आर्थिक अवस्था कमजोर भएकाहरू पनि तरकारी खेती गरेर आत्मनिर्भर हुँदै आइरहेका छन् । बाँसका टहरामा प्लास्टिक लगाएर टर्नेल बनाई बाह्रै महिना तरकारी खेती गर्न सकिने किसानको भनाई छ ।
किसानहरुलाई नै सहज हुने हिसाबले प्राविधिक सल्लाह तथा तालिमहरु प्रदान गर्दै आइरहेको एक्सन नेपालका सहास परियोजना कार्यक्रमका संयोजक उमेश श्रेष्ठले बताए । ‘सुरुका दिनहरुमा परम्परागत ढंगले तरकारी खेती गरिन्थ्यो’, श्रेष्ठले भने, ‘बीउविजन तथा तालिमपछि किसानहरु व्यावसायिक खेतीतर्फ लागेका छन् ।’ प्लास्टिकको टनेल, पानी राख्ने ट्याङकी, पाइप, औजार लगायतका कृषि औजारहरू प्रदान गरेको संयोजक श्रेष्ठले जानकारी दिए ।
२०७५ माघ ३ गते प्रकाशित