Sat. Nov 16th, 2024

गोकर्नेको जिग्री दोस्त


निर्मल घिमिरे –

गाउँका चिनेजानेका देखि उनीहरुले चिनेकाहरुसम्म
हरेक साँझ भएपछि, धर्मशाला झै जम्मा हुने
कोही साथी मातेर आउने
कोही मात्तिने चिज लिर आउने
चुरोट, रक्सी र गफिने अखडा
घरबाट बा ले पठाएका बोरा भरी चामल
एक सातामै स्वाहाः
हेर केटा हो गास छोड्नु तर साथ नछोड्नु
तोरी रामेको आदर्शबादी भाषण र अर्ति
कोलाहल अनि गुञ्जदो हो–हल्ला
खाना बनाउन तै रानी मै रानी
मध्यरातमा कुकुरको सिठ्ठी
छिमेकीले पोल लगाइदिएपछि
घरबेटी बा को एक हप्ते अल्टिमेटम् पाउँछ गोकर्ने

छुट्टिका दिन एकाबिहानै
गल्ली गल्ली भित्री सडक यत्रतत्र चहार्दै
पर्दा नलागेको झ्याल देख्नासाथ
‘मा’ र ‘बा’ साइनो लाउँदै
कोठमा खाली छ रे सुनेर आएको
सुन्दै नसुनेको कुरा पनि–पर्दा हेरेकै भरमा
ठ्याक्कै हो जस्तो पारी
कोठा खोज्दै सोध्दै चोक चोक गल्ली गल्ली
पर्दा नदेख्दा कहिले काँहि त
स्कुलमै पनि सोध्न पुग्छ गोकर्ने
जाँगिर पाउन भन्दा नी कोठा पाउन गाह्रो
थकित भई हत्तु खाई खुइए…गर्छ गोकर्ने

सोधेको नब्बे प्रतिशतमा अहँ उत्तर
कतिपय घरबाला–ह्या छैन भनी झर्किने
काृही अर्को पट्टि फर्किने
मुस्किलले पाइहालेमा धेरै धेरै सर्तहरु
बिहे भएको छ कि छैन –पहिलो प्रश्न
कतिजना बस्ने –दोस्रो
पाहुना आउँछन् कि आउँदैनन् –तेस्रो
तीन महिनाको अग्रिम भाडा –चौथो
होहल्ला र जथाभावी फोहोर गर्न नपाइने–पाँचौ

पढ्न, पढेर जाँगिर खाने अनि बिहे गर्ने योजना
द्धितियदेखि मुन्तिरका यावत सर्तहरु
आफ्नो बस् र काबुमा भएता पनि
पहिलो प्रश्नको उत्तर र कोठाको केमेष्ट्री नमिलेसी
छैन गरेको बिहे–सिहे झर्किदै फर्कन्छ गोकर्ने

अर्को दिन सोही तालिकामा
साहुँजी तपाईको घरमा कोठा खाली छ रे हो ?
छ कतिजना बस्ने…..?
फूलमानचाको ठाडो प्रशन अनि कोठाको विशेषता
पानीको लागि मध्यरातमा उठ्नुपर्छ, ढुङगेधारा जानुपर्छ
तापनि सधैँ त नपाइन नि सक्छ
तपाईका चाहि के के सर्तहरु छन् त साहुँजी ?
मेरो घरमा दुई कोठाको फ्लाट छ
तर एटेच् बाथरुम छैन
बाहिरतिर कमनमा जानुपर्छ
ट्वाइलेटमा पानी छैन, भित्रबाट लानुपर्छ
तीन महिनाको भाडा अग्रिम रुपमा दिनुपर्छ
घामको मूख हेर्नलाई पल्लोघरमा जानुपर्छ
फ्लाटभित्र सधैँ नै दिउँसै बत्ति बाल्नुपर्छ
झ्यालको धुलो एकाबिहानै पानी लगाई पुच्छनुपर्छ
जुत्ता चप्पल मिलाएर सफा–सुग्गर राख्नुपर्छ
आफन्त र नातागोता मेरो घरमा त्याग्नुपर्छ
दिक्क हुँदै पूनः घर फर्कियो गोकर्ने

जति खोजेपनि जति भौतारिए पनि
कहिले आफूलाई चित्त नबुझ्ने
कहिले उसलाई आफू चित्त नबुझउने
अल्टिमेटमको दोहोरो समय सीमा सकिदा
बल्ल तल्ल पाइएर खुसी भई
सरेको कोठामा एकसाता नबित्दै
नब घरबेटीबाट–पुन अल्टिमेटम
किनकी उसका सबै साथीहरु उनै थिए ।

२०७५ पुस २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: