
६ मंसिर, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनअपेक्षा अनुसार काम गर्नु पर्ने बताएका छन्। आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यन्वयन सम्बन्धि प्रथम चौमासिक समीक्षा बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘देशको परिस्थिती, जनअपेक्षा र हाम्रो अभिभारा बुझ्नु पर्दछ। ति अपेक्षा पूरा गर्न कोही सेवाको रुपमा कार्यरत छौं। कोही जनताले चुनावमार्फत पठाएर आएका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘यस अभिभारा र अपेक्षालाई पुरा गर्न कोही कसैले पनि विलम्ब गर्न हुदैन।’
उनले देश विकास र जनताको काम गर्नबाट कोहीपनि उम्कन नपाउने बताए। ‘जनताको कामका लागि तर, पनि, यदिजस्ता शब्द प्रयोग गरेर उम्कन मिल्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्।’ मन्त्री र सचिवको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आफ्ना कमजोरीलाई तर्कको लिउनले कसैले पनि टाल्न नखोज्नुहोस।’
सरकार गठनको नौ महिनासम्म पनि पुरानै ढाँचा, पुरानै बानी नहटेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गरे। ‘एउटा टेवलबाट अर्को टेवलमा फाइल सर्न कैयौं दिन लाग्ने, सिंहदरबारको एउटा कार्यलयबाट अर्को कार्यलयमा पत्र पुग्न महिनौं लाग्ने। यो पाराले कसरी अघि बढ्न सकिन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘मन्त्रिपरिषदबाट ढिलासुस्ती भएको छ भने भन्नुहोस। मन्त्री, सचिवको ढिलासुस्ती छ भने भन्नुहोस। ऐन कानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्नुहोस। त्यस्ता ढिलासुस्तीका कारणलाई निरुपण गर्ने तर्फ मेरो ध्यान जान्छ। अब कहिंपनि ढिलासुस्ती स्वीकार्य छैन।’
प्रधानमन्त्री ओलीले बजेट र नीति तथा कार्यक्रममा भएका कार्यक्रमलाई छिटो कार्यान्वयन गर्न निर्देशन दिएका छन्। ओलीले प्रथम चौमासिकमा पूरा गर्न नसकेका कामलाई दोस्रो चौमासिकमा पूरा गर्नेगरी काम गर्नसमेत मन्त्री र पदाधिकारीलाई निर्देशन दिए। उनले पहिलो चौमासिकमा कार्यान्वयन हुन नसकेका कामलाई दोस्रो चौमासिकमा पूरा गरेर आर्थिक वर्षका सबै लक्ष्यहरु शतप्रतिशत पूरा गर्नेगरी काम गर्न पदाधिकारीलाई निर्देशन दिएका हुन्।
२०७५ मंसिर ६ गते प्रकाशित