
२६ कात्तिक, हेटौंडा
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त भएका भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितका अभिव्यक्तिको खण्डन गरेका छन्। स्थापितलाई बर्खास्त गरेपछि विवाद र चर्चामा रहेका पौडेलले स्थापितको अभिव्यक्तिको खण्डन गरेका हुन्।
‘क्याबिनेटको बैठक अवज्ञा गरेपछि कुनै पनि मन्त्री हट्न सक्छ। संसदीय व्यवस्थामा नेतृत्वले भनेको सबैले मान्नुपर्छ। मुख्यमन्त्रीको सहमतिबिना मन्त्रीले काम गर्न सक्दैन’, पौडेलले भने, ‘यो सिस्टमको कुरा हो। मुख्यमन्त्रीको सहमती बिना काम गर्नेले कि त राजीनामा दिनुपर्छ, कि त सहमतिमा आउनुपर्छ। यसलाई मैले समान्य रुपमा लिएको छु।’
मुख्यमन्त्री पौडेलले मन्त्री स्थापितका आरोपका पछि नलाग्न आग्रह गरेका छन्। आरोपका विषयमा पौडेलले भने, ‘आरोप जे पनि लगाउन पाइन्छ ? छाड्दिनुस् यस्ता कुरा।’सात मन्त्रालयले गरेको काम नै आफ्नो पर्फमेन्स भएको पौडेलको भनाइ छ। मन्त्री स्थापित पर्फमेन्सका आधारमा मात्र नभएर धेरै विषय आएपछि हटेको उनले प्रष्ट पारेका छन्।
स्थापितलाई राजधानी हेटौंडाबाट अन्यत्र सार्न लविङ गरेका कारण पनि हटाइएको भन्ने हल्ल छ नि भन्ने प्रश्नको जवाफमा पौडेलले भने, ‘त्यता म गएकै छैन। राजधानीको विषयमा उहाँले के के भन्नुभयो, गर्नुभयो मैले हिसाब राखेको छैन। मन्त्रिपरिषद् बैठकमा उहाँले जे बोल्नु भो, धेरै बोल्नुभयो।’
स्थापितले मुख्यमन्त्री पौडेलमाथि एसिया फाउन्डेसनको पैस लिएर सूचना बेचेको, सिआईएको एजेन्ट बनेको जस्ता आरोप लगाएका थिए। त्यसको पौडेलले कडा शब्दमा प्रतिवाद गरेका छन्।
२०७५ कात्तिक २६ गते प्रकाशित