
११ कात्तिक, काठमाडौं
क्रिश्चियानो रोनाल्डोको २ गोल मद्दतमा इटालियन लिग फुटबल सिरी एमा युभेन्ट्सले इम्पोलीलाई पराजित गरेको छ । गएराति भएको खेलमा युभेन्ट्स २-१ ले विजयी भयो ।
खेलमा अग्रता भने इम्पोलीले लिएको थियो । २८ औं मिनेटमा क्यापुटोले इम्पोलीका लागि गोल गरेका थिए ।
बराबरी गोल फर्काउन युभेन्ट्सलाई २६ मिनेट संघर्ष गर्नुपर्यो । ५४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरी गरे । उनले ७० औं मिनेटमा पनि अर्को एक गोल गरेपछि युभेन्ट्स २-१ ले विजयी भयो ।
यो जितसँगै शीर्ष स्थानको युभेन्ट्सको १० खेलबाट २८ अंक भएको छ । दोस्रो स्थानमा रहेको नापोलीको २१ अंक छ ।
२०७५ कात्तिक ११ गते प्रकाशित