

१० कात्तिक, काठमाडौं –
श्रीलंकामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति चुनावमा मैत्रीपाल सिरिसेनासँग पराजित भएका राजपक्षेलाई मैत्रीपालाले नै प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रानिल विक्रमसिंघेलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्दै राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । सिरिसेनाको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै उनले प्रधानमन्त्री परिवर्तन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
बर्खास्तीमा परेका विक्रमसिंघेले भने आफू नै श्रीलंकाको प्रधानमन्त्री रहेको दावी गरेका छन् । संसद्मा अझै आफ्नो बहुमत भएकाले आफू नै प्रधानमन्त्री भएको उनको दावी छ । विक्रमासिंघेको दलले राष्ट्रपतिले कू गरेको आरोप समेत लगाएको छ ।
महिन्दा राजापाक्षेले भने आफ्नो ट्विटर ह्याण्डलमा आफ्नो परिचय परिवर्तन गर्दै श्रीलंकाको प्रधानमन्त्री बनाएका छन् ।
२०७५ कात्तिक १० गते प्रकाशित