११ असोज, धादिङ –
जिल्लाका अधिकांश ठाउँमा विद्यालय नै बन्द गरेर शिक्षक परीक्षा दिन गएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् । प्रायः सबै शिक्षक परिक्षा दिन जाने भएपछि अधिकाँंश विद्यालय तीनदिनदेखि एक सतासम्मका लागि बन्द गरेका हुन् ।
धादिङ जिल्लाबाट परीक्षा दिनेहरुको चितवनमा केन्द्र परेपछि विद्यालय बन्द गर्नु परेको विद्यालयले जनाएको छ । विद्यालय आफैले बिदा गर्न पाउने अधिकार अन्र्तगत विद्यालय बन्द गरिएको विद्यालयहरुले जानकारी दिएका छन् ।
केही शिक्षकहरु शिक्षक सेवा आयोगको परीक्षा दिन जाँदा विद्यालय नै पूरै बन्द गराएका हुन् । जिल्लाका अघिकांश विद्यालयमा बर्खे तथा जाडो बिदाबाट कटाउने गरी तीनदिनदेखि एक सातासम्मका लागि विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाई धादिङका विद्यालय निरिक्षक कृष्णकुमार श्रेष्ठले बताए ।
लामो समयदेखि शिक्षक सेवा आयोगको परीक्षा दिन नपाएका शिक्षक र अन्य सर्वसाधरण पनि लोकसेवा आयोगको तयारीमा जुटेका छन् । आयोगले असोज ११ गते माविको १२ गते निमाविको र १३ गते प्राथमिकको परीक्षा तोकिएको छ । जिल्लाबाट प्रावितर्फ २७७१, निमाविमा ६२८ र माविमा ३२९ परीक्षार्थी गरी ३१२८ जनाले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई धादिङले जानकारी दिएको छ ।
२०७५ असोज ११ गते प्रकाशित