Wed. Nov 27th, 2024

२ महिनामा १ खर्ब २० अर्ब राजश्व संकलन

२ असोज, काठमाडौं

चालु आर्थिक वर्षको २ महिनामा १ खर्ब २० अर्ब राजश्व संकलन भएको छ ।

अर्थमन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको २ महिना अर्थात साउन १ देखि भदौ मशान्तसम्मको अवधिमा १ सय २० अर्ब राजश्व संकलन भएको जानकारी गराएका हुन् ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष ३७ प्रतिशतले बढी राजश्व संकलन भएको थियो ।भदौ मशान्तसम्मको अवधिमा १ खर्ब ३ अर्ब बजेट खर्च भएको छ । अर्थमन्त्री खतिवडाका अनुसार चालु आर्थिक वर्षको २ महिनामा चालुतर्फ ९६ अर्ब रुपैयाँ बजेट खर्च भएको छ भने पूँजीगततर्फ भने ६ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ ।

अघिल्लो वर्ष चालु भन्दा पूँजीगत खर्च धेरै भएको उनले बताए । तर, अघिल्लो वर्षसँग यसवर्ष तुलना भने गर्न नहुने उनको तर्क छ । ‘अघिल्लो वर्ष प्रदेशमा भएको खर्चको तथ्यांक पनि केन्द्रमा नै थियो, यस वर्ष छैन’ उनले भने, ‘उताबाट तथ्यांक नआएसम्म भन्न सकिँदैन र तुलना गर्न पनि नमिल्ला ।’

कार्यक्रममा बोल्दै उनले सरकारले करछुटको व्यवस्थालाई निरुत्साहित गरिएको समेत प्रष्ट पारे ।कर छुटलाई निरुत्साहित गर्ने योजना बजेटमा नै समावेश गरिएको भन्दै अर्थमन्त्री खतिवडाले सोही प्रभावकारी ढंगले कर संकलन गर्नका लागि ६ वटा आन्तरिक राजश्व कार्यालय र ११ वटा करदाता सेवा कार्यालय थप गर्न लागिएको समेत बताए । केही भन्सार कार्यालयहरुको अपग्रेडसमेत गरिने उनले बताए ।

२०७५ असोज २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: