

२७ भदौ, धादिङ –
नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार माल्दिभ्सलाई पराजित गर्दै साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन्।
समूह ‘ए’ बाट आयोजक बंगलादेश र भुटानलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको नेपालले बुधबार समूह ‘बी’ को उपविजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । माल्दिभ्ससँग नेपालले विगतमा सखद नतिजा निकाल्न नसके पनि सेमिफाइनलमा फरक नतिजा आउनेमा नेपाली टोली ढुक्क देखिन्छ।
विगतका नतिजा हेर्ने हो भने नेपालको पक्षमा छैन । १५ खेलमध्ये नेपालले ४ खेलमा मात्र जित निकाल्न सकेको छ भने ४ खेल बराबरी खेलेको छ । बाँकी ७ खेलमा माल्दिभ्सले बाजी मारेको छ । पछिल्लो समय नेपालले बंगबन्धु गोल्डकपमा माल्दिभ्समाथि ४–० को नतिजा निकालेको थियो । नेपालले माल्दिभ्सलाई हराएको त्यही बंगबन्धु राष्ट्रिय रंगशाला हो जहाँ बुधबार पुनः दुवै आमनेसामने हुँदै छन् । उक्त खेलमा नेपालका नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए।
साफ च्याम्पियनसिपमा ५ पटक सेमिफाइनल खेलेको नेपालले अहिलेसम्म फाइनलमा स्थान बनाउन सकेको छैन । २०११ र २०१३ को सेमिफाइनलमा नेपाल माल्दिभ्ससँगै पराजित भएको थियो । तर, मुख्य प्रशिक्षक महर्जनले माल्दिभ्सविरुद्ध विगतको नतिजा राम्रो नरहे पनि बुधबार नेपालले अहिलेसम्म हासिल गर्न नसकेको नतिजा आउने बताए । पछिल्ला दुई खेल बंगबन्धु र १२औं दक्षिण एसियाली खेलकुद ९यु–२३ टोली० मा माल्दिभ्सलाई पराजित गरेको स्मरण गर्दै महर्जनले साफ च्याम्पियनसिप फरक प्रतियोगिता भए पनि विजय हासिल गर्दै फाइनलमा स्थान बनाउने बताए।
२०७५ भदौ २७ गते प्रकाशित