Thu. Nov 28th, 2024

चिकित्सक नहुँदा धादिङ अस्पताल आँफै ‘विरामी’

सेवाग्राही र विरामी समस्यामा

मनिष दुवाडी/भदौ २०, धादिङ – 

ग्रामिण क्षेत्रमा चिकित्सक नभएर सर्वसाधरणले सेवा नपाएको समस्या त जहाँतही सुनिएकै छ तर राजधानी जोडिएको धादिङ जिल्लामा भने सदरमुकामकै जिल्ला अस्पतालमा चिकित्सक नहँुदा विरामी तथा सेवाग्राहीहरु समस्यामा परेका छन् । दरवन्दी अनुसारको चिकित्सक नहुँदा अस्पतालबाट दिने सेवाहरु प्रभावित बनेका छन् भने सामान्य उपचारको लागि पनि विरामीहरु निजि क्लिनिक र काठमाण्डौ सम्मै धाउन बाध्य बनेका छन् ।

गर्भवती महिलाहरुले ४ महिना, ६ महिना र ८ महिनामा गर्नुपर्ने भिडियो एक्स–रे सेवा जिल्ला अस्पतालबाट मात्रै प्रदान हुँदै आएको थियो । गएको शुक्रवार नीलकण्ठ नगरपालिका वडा नं ३ कि ६ महिनाकी गर्भवती शान्ति श्रेष्ठ भिडियो एक्सरे सेवा लिनको लागि जिल्ला अस्पताल पुगिन तर अस्पतालको ढोकैमा भिडियो एक्सरे सेवा बन्द भएको सुचना देखेपछि निराश बनिन् ।

शान्ती मात्रै होइन पछिल्लो २ महिनादेखी भिडियो एक्सरे सेवा नपाएर निराश हुँदै फर्किर्ने सेवाग्राहीहरु धेरै छन् । चिकित्सक नभएकै कारण नेपाल सरकारबाट स्वीकृत भइ संचालनमा रहेको अप्रेशन सहितको प्रसुती सेवा बन्द भएको पनि २ महिना भइसक्यो । अलिकति जटिल प्रकृतिको केस आउने वित्तिकै रिफर गरिहाल्नु पर्ने बाध्यता सदरमुकामकै अस्पतालमा भएपछि सेवाग्राही तथा स्थानीय चिन्तित बनेका छन । अस्पताल विकास समितिको पदावधी सकिएर विदाइ हुँदा करार सेवामा राखिएका कर्मचारीहरुको करार नविकरण हुँन सकेको छैन भने ४ जना सरकारी दरवन्दी रहेकोमा एक जना मात्रै चिकित्सक छन् । भएको एक जनाले पनि निमित्त मेडिकल सुपरीटेण्डेन्टको जिम्मेवारी लिएर प्रशासनिक काम गर्नुपर्ने बाध्यता आइपरेपछि जिल्ला अस्पताल धादिङवेशीबाट प्रदान गरिने बहिरङ्ग (ओपीडी) सेवा पनि प्रभावित भएको छ ।

धादिङ जिल्लाका ग्रामिण क्षेत्रका स्वास्थ्य चौकीहरुमा उपचार हुन नसकेपछि थप उपचार गराउन आउने विरामीहरुलाइ चिकित्सक नभएकै कारण रिफर गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी कृष्णलाल उप्रेतीले जानकारी दिए । उप्रेतीले भने, ‘गएको असार मसान्तदेखी अप्रेशन सहितको प्रसुती सेवा बन्द छ, प्रसुतीको कुनै जटिल अवस्था आइपरेमा तत्काल रिफर गर्नुको विकल्प छैन ।’ गत असार मसान्तसम्म कार्यरत रहेका डाक्टर अर्जुन श्रेष्ठको करार अवधी सकिएपछि भिडियो एक्स रे सेवा र अपरेशन सहितको आकस्मिक प्रसुती सेवा संचालनमा समस्या भएको उप्रेतीले जानकारी दिए ।

जिल्ला अस्पतालबाट दिने सामान्य सेवाहरु समेत चिकित्सक नभएकै कारण बन्द हुँदा विरामी तथा सेवाग्राहीहरु निजि क्लिनिक तिर धाउन बाध्य भएका छन् । जिल्ला अस्पतालबाट मात्रै प्रदान हुने भिडियो एक्स–रे गर्नकै लागि गर्भवती महिलाहरु काठमाण्डौ धाउनुपर्ने बाध्यता आइपरेको छ । पर्याप्त चिकित्सक नुहँदा जिल्ला अस्पताल आँफैले संचालन गरेको विस्तारित स्वास्थ्य सेवा र कार्यलय समयमा आकस्मिक उपचार कक्षमा चिकित्सक बसेर दिने सेवा समेत प्रभावित भएको छ ।

नीलकण्ठ ३ वीच बजारका अर्जुन श्रेष्ठले आक्रोश पोखे, ‘जिल्ला सदरमुकामकै ठुलो भनिएको अस्पतालको यो विजोग स्थिति छ, अस्पताल आँफै विरामी छ भने गाउँमा–गाउँमा कस्तो समस्या होला ? गाउँमा रहेका स्वास्थ्यकर्मीले रिफर गरेर जिल्ला अस्पताल पठाएको विरामीको उपचार हुन सक्दैन, सामान्य भिडियो एक्सरे गर्न पनि काठमाण्डौ नै कुद्न पर्छ भने किन राख्न पर्यो जिल्ला अस्पताल ?’

जिल्ला अस्पतालको नेतृत्व गर्ने मेडिकल सुपरिटेण्डेन्ट रिक्त रहेकै २ वर्ष भइसक्दा समेत मन्त्रालय र विभागबाट चिकित्सक पठाएका छैनन् । तत्कालिन मेसु डाक्टर रसिला अमात्य सरुवा भएपछि १ वर्षसम्म नित्तिम मेसु चलाएका गौरव महतो समेत सरुवा भइसक्दा समेत सरकारी दरवन्दीको मेसु जिल्लामा हाँजिर हुन सकेको छैन । हाल जिल्ला अस्पतालममा रहेकी एक मात्रै सरकारी दरवन्दीकी चिकित्सक दीपा बोहराले नित्तिम मेसुको काम सम्हालिनरहेकी छिन भने बहिरङग सेवा ४ जना करार चिकित्सकको भरमा चलेको छ ।

१५ शैया क्षमताको अस्पताल भएपनि हाल ४३ शैयाबाट सेवा दिइरहेको अवस्थामा पनि जिम्मेवार निकायबाट हेलचेक्राइ हुँदा जिल्ला अस्पतालमा उपचार गराउने विरामीहरु समस्यामा परिरहेका छन् । ‘हामीले पटक–पटक स्वास्थ्य मन्त्रालय, विभाग र क्षेत्रमा चिकित्सक नभएकाले समस्या भएको भनेर पत्र पठाएका छौँ, तर पनि कुनै सुनुवाइ भएकै छैन ।’ अस्पतालका सुचना अधिकारी उप्रेतीले भने, ‘दरवन्दीका चिकित्सक नहुँदा अस्पतालको दैनिक सेवा प्रवाहमा निकै नै समस्या भइरहेको छ तर सरोकारवाला निकायहरुको कुनै चासो परेकै छैन ।’

२०७५ भदौ २०गते प्रकाशित

About The Author

अन्य समाचारहरु: