Thu. Nov 28th, 2024

अस्पतालको आँगनमै पोष्टमार्टम

मनिष दुवाडी / ११ भदौ, धादिङ –

स्वास्थ्य उपचारको लागि अस्पताल पुगेका बिरारीहरुको आधा समस्या अस्पतालको बाहिरी बातावरणले पनि निको बनाउनुपर्छ भन्ने मान्यता राखिन्छ । ठुला–ठुला अस्पतालहरुमा बाहिरी बातावरण मनमोहक र प्राकृतिक नै बनाइए पनि साना अस्पताल र सरकारी अस्पतालहरुमा खासै त्यस्तो पाइदैन । अझ सेवाग्राहीहरुको लाइन लाग्ने र चहलपहल हुने सरकारी अस्पतालको आँगनमै पोष्टमार्टम हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । यो सत्यता हो धादिङको गजुरी गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको ।

प्राथमिक स्वास्थ्य केन्द्र (अस्पताल) को प्राङगणमा बिहीवार नियमित स्वास्थ्य उपचारको सेवा लिन आएका सेवाग्राहीहरुको एकातर्फ भीड थियो भने अर्को तर्फ आफ्ना मरेको मान्छेको पोष्टमार्टम रिपोर्ट कुरेर बसेका मलामीहरुका भीड थियो । र, अस्पतालको आँगनमै पोष्टमार्टमको लागि लास चिरिदै थियो ।

अस्पतालको आँगनमै राखेर शव चिर्नुपर्ने अस्पतालको रहर भने होइन, यसको छुट्टै बाध्यता रहेको छ । अस्पतालमा रहेको एउटै मात्र मर्चरी (मुर्दाघर) मा ३ वटा शव भएकाले आँगनमै पोष्ट मार्टम गर्नुपरेको हो । राजमार्ग क्षेत्रभरि डाक्टर बस्ने एउटै मात्र स्वास्थ केन्द्र(अस्पताल) गजुरीमा मात्रै रहेको छ । पृथ्वी राजमार्ग आसपासका भएका सवै घटनामा पोष्टमार्टम गर्नुपरेमा गजुरी स्थित अस्पतालमै ल्याउनु पर्ने बाध्यता रहेको छ । बुधवार मात्रै स्वास्थ केन्द्रमा ३ वटा शव आइपुग्यो । एउटा बेवारिसे र २ वटा पहिचान भएका ।

भाद्र ५ गते झुण्डिएर मृत्यु भएको थाक्रे गाउँपालिका वडा नं ३ मिलनचोककी सविता तामाङका आफन्तहरुले पोष्टपार्टम गर्नको लागि शव गजुरी अस्पताल ल्याएका थिए । आफन्तले छिटो पोष्टमार्टम गरिदिन आग्रह गरेपछि मुर्दाघरमा अर्को शव भएका कारण स्वास्थ केन्द्रको आँगनमै थोरै पर्दाले छेकेर लास चिरिएको हो ।

प्राथमिक स्वास्थ केन्द्रकी निमित्त प्रमुख राधा पाण्डेले भनिन्, ‘मुर्दाघरमा अरु २ वटा शव छ, जुन एकदमै गन्हाएकाले भित्र बसेर पोष्टमार्टम गर्नै सकिदैन, मृतकका आफन्तले छिटो गरिदिन आग्रह गरेकाले खुल्ला ठाउँमै भएपनि पर्दा लगाएर पोष्टमार्टम गरिएको हो ।’
आँगनमा पोष्टमार्टम भइरहेको देखेपछि उपचार गराउन आएका विरामी र विरामी कुरुवाहरु नाक खुम्च्याउदै अस्पताल प्रशासन प्रति गुनासो गरिरहेका थिए । छोराको स्वास्थ्य उपचारको लागि आएकी कुम्पुरकी सरस्वती पण्डितले भनिन्, ‘आँगनमै लास चिरिरहेको छ, सक्नेले हेर्लान्, नसक्नेहरु कता जाने ? लास गनाएको पनि छ, अरु विरामी र विरामी कुरुवालाइ त यो दृश्यले झनै विरामी बनाउदैन र ?’

बस्तीको वीचमा रहेको प्राथमिक स्वास्थ केन्द्रको यो अवस्थाले स्थानीयबासीहरुलाइ पनि हैरान बनाएको छ । कुनै बेला बेवारिसे शव हप्तादिनसम्म अस्पतालमै रहँदा शव गन्हाएर वरीपरि समेत बस्न नसकिने अवस्था बन्छ । प्राथमिक स्वास्थ्य केन्द्रकै सिनियर अहेव राम कुमार श्रेष्ठले भने, ‘कुनै बेलामा शव गन्हाएर अस्पताल प्राङगणमा ओपीडी विरामीहरु चेकजाँच गर्न नसकेपछि अस्पताल नजिकैको घरहरुमा विरामी राखेर विरामी चेकजाँच गर्नुपरेको नमिठो अनुभव पनि हामीसंग छ ।’

अस्पतालमा ब्यवस्थित मुर्दाघर र शव नगन्हाउनने बनाएर सुरक्षित तरिकाले राख्ने मर्चुरी फ्रिज (लास राख्ने फ्रिज) नहुँदा अस्पतालका डाक्टर, कर्मचारी, विरामी र अस्पताल वरिपरिका स्थानीयबासीले ठुलो समस्यामा भोगिरहेका छन् । अस्पतालले पटक–पटक आग्रह गर्दा पनि कुनैपनि सरोकारवाला निकायले चासो नदेखाएको अस्पतालकी निमित्त प्रमुख पाण्डेले बताइन् । ‘यत्रो पृथ्वी राजमार्ग भरि दुर्घटना हुँदा शव यही ल्याएर राखिन्छ । पहिचान नखुलेका वेवारिसे शवहरु ७ दिनसम्म राख्नुपर्ने कानुनी प्रावधान नै छ ।’ पाण्डेले भनिन्, ‘यहाँको शवगृहमा एउटा मात्रै शव अटाउछ । कतिपय अवस्थामा बाहिरै शव राख्नुपर्छ । शव गृह खाली बसेको दिन छैन, र पनि यहाँ शव सुरक्षित राख्नको लागि ब्यवस्थित शवगृह छैन ।’

गएको स्थानीय तहको निर्वाचन पछि आएका जनप्रतिनिधिहरुले ब्यवस्थित मुर्दाघर बनाउन र मर्चुरी फ्रिज खरिद गर्नको लागि पहल थालेपनि कार्यान्वयन भएको छैन । गजुरी गाउँपालिकाले मर्चुरी फ्रिज खरिद गर्ने प्रक्रियामै रहेको बताएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक डाक्टर रामहरी रेग्मीले भने, ‘नेपालमा यस्तो प्रविधिको सामानहरु वितरण गर्ने सप्लायर्स नै भेटिएको छैन ।’
५ लाख भन्दा बढी मुल्यको सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन अनुसार वोलपत्र आब्हान गर्नुुपर्ने बाध्यात्मक अवस्था रहेपनि बोलपत्र हाल्ने मान्छे नै नभेटिएकाले मर्चुरी फ्रिजल्याउन नसकिएको रेग्मीले बताए । मुर्दाघर पुरै चिसो बनाएर राख्ने प्रविधिको विषयमा पनि कुरा गरिएको र त्यो निकै खर्चिलो हुने भएकाले कम्तीमा ३ वटा शव राख्न मिल्ने मर्चुरी फ्रिज तत्काल खरिद गर्नको लागि पहल गरिएको पनि गाउँपालिकाले जनाएको छ ।

२०७५ भदौ ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: