Sun. Dec 22nd, 2024

९ महिनामा पौने ७ करोड असुली

IMG_9764
धादिङ  – धादिङ जिल्ला अदालतले पछिल्लो ९ महिना यता विभिन्न मुद्धाको दण्ड जरिवानाबाट ६ करोड ८७ लाख असुली गरेको छ ।

अदालतले विभिन्न मुद्धामा गरी करिब साढे ९ करोड जरिवाना असुली गर्नुपर्नेमा चालु आर्थिक वर्ष २०७१/७२ को साउनदेखि फागुन मसान्तसम्म ६ करोड ८७ लाख २ सय ४७ रुपैया बक्यौता असुली गरेको हो । अझै ३ करोड ४५ लाख जरिवाना असुली गर्न बाँकी रहेको अदालतका श्रेस्तेदार राजेन्द्रप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

अदालतले फैसला गरेको कैदतर्फ ३ सय ९ वर्ष ७ महिना २८ दिन कैद फर्छाैट गरेको छ । कुल एक हजार चार सय ४४ वर्ष ७ महिना १३ दिन कैद रहेकोमा १ हजार १ सय ३४ वर्ष ९ महिना १५ दिन कैद फर्छाैट हुन बाँकी रहेको श्रेस्तेदार वाग्लेले जानकारी दिनुभयो । फैसला कार्यान्वयनका लागि तहसिल फाँटमा दिइएको निवेदन मध्ये ३१ थान निवेदनको किनारा लगाइ २९ थान निवेदन कार्यान्वयनको चरणमा रहेको जिल्ला अदालत धादिङले जनाएको छ ।

यसैबीच जिल्ला अदालत धादिङले नयाँ वर्ष देखि हरेक दिन परामर्श सेवा उपलब्ध गराउने भएको छ । मुद्धाका पक्षलाई परामर्श सेवा प्रदान गर्न हरेक दिन साढे १ बजे देखि २ बजे सम्म परामर्श सेवा उपलब्ध गराउन लागिएको हो ।

बुधबार जिल्ला अदालत धादिङमा पत्रकार भेटघाटको आयोजना गरेर जिल्ला न्यायधिस रमेशराज पोखरेलले चालु आर्थिक वर्षमा धादिङ जिल्ला वाग्मति अञ्चलमा उत्कृष्ट जिल्ला घोषित भएको जानकारी दिनुभयो । पछिल्लो दिनहरुमा लक्ष्य राखिएको भन्दा धेरै मुद्धाको फर्छाैट भइरहेको जिल्ला न्यायधिस पोखरेलले बताउनुभयो । जिल्ला अदालतमा यस आर्थिक वर्षको फागुन मसान्त सम्ममा २ सय ९२ मुद्दा फर्छौटको लक्ष्य राखिएकोमा ३ सय २१ ओटा मुद्दाको फैसला भएको छ । जसमध्ये निरन्तर सुनुवाइका लागि ६२ मुद्दाको लगत भएकोमा ४४ थान मुद्दा फर्छौट भएको छ । अदालतबाट प्रदान गरिने सेवा सुविधाका बारेमा जानकारी गराउने उद्देश्यले गाउँ गाउँमा न्यायधिस भेटभाट र छलफल कार्यक्रम संचालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

 

About The Author

अन्य समाचारहरु: