
१३ साउन, काठमाडौं
नेपाली कांग्रेसले बलात्कारीलाई मृत्युदण्डको कानून बनाउन माग गरेको छ । आइतबार संसदको शून्य समयमा बोल्दै कांग्रेस नेतृ उमा रेग्मीले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था रहेको जानकारी दिँदै नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने बताइन् ।
कञ्चनपुरको भिमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको प्रसंग उठाउँदै रेग्मीले भनिन्, ‘७७ वर्षीया वृद्धादेखि साढे दुई वर्षीया बालिकासम्म श्रृंखलावद्ध बलात्कृत भइरहेका छन् । यसै सिलसिलामा निर्मला पन्तको बलात्कार भएको छ । कानुन संशोधन गरेर मृत्युदण्डकोसम्म कारवाही गर्नुपर्छ बलात्कारीलाई ।’
उनले सरकारले बलात्कारीलाई खोजेर कारवाही गर्नुको साटो स्थानीय जनतालाई कारवाही गरेको भन्दै उनले आक्रोश पोखिन् । उनले लासको राजनीति गर्न खोजेको भनेर कांग्रेसलाई लागेको आरोपको खण्डनसमेत गरिन् ।रेग्मीअघि बोलेकी नेकपाकी सांसद निरुदेवी पालले निर्मलाको लासमाथि कतिपय दलले राजनीति गर्न खोजेको बताएकी थिइन् ।
आजको शून्य र विशेष समयमा बोल्ने सांसदहरुले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाई कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन् । कतिपय सांसदले यस विषयमा गृहमन्त्रीको जवाफसमेत मागेका छन् ।
टयूसन पढ्न गएकी पन्तको उखुबारीमा शव भेटिएको थियो ।संसद बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले घटनाको निन्दा र भत्सर्ना गर्दै हत्यारालाई पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरे ।
२०७५ साउन १३ गते प्रकाशित