Fri. Jan 31st, 2025

धादिङमा ७० प्रतिशत धान रोपाई

सरिता श्रेष्ठ / १२ साउन,  धादिङ  –

जिल्लामा १६ हजार हेक्टर क्षेत्रमा धान खेती गरिदै आएरहेकोमा अहिलेसम्म ७० प्रतिशत धान रोपाई सकिएको छ ।

जिल्लामा वार्षिक ५० हजार मेट्रिक टन वर्षे धान र २० हजार मेट्रिक टन चैते धान उत्पादन हुँदै आएको छ । विशेषगरी टारहरु अर्थात कम उचाई भएका ठाउँहरुमा मकवानपुर १, सावीत्री, सुख्खा १, २, ३, ४, ५ रामधान जस्ता धानहरु लगाइने गर्दछ । बढि उचाई भएका ठाउँहरुमा अर्थात अलि चिसो हावापानी भएका ठाउँहरुमा खुमल ४, खुमल १०, हर्दिनाथ १, हर्दिनाथ २, सुमलचार, खुमल ११, गोरखनाथ, वायोसिट जातका धान खेती गरिदै आएको जिल्ला कृषि विकास कार्यलय धादिङका प्रमुख केशव देवकोटाले बताए । ‘रोपाइमा ढिला भएपनि आकाशेपानीको भरमा रोप्नुपर्ने खेतहरुमा रोपाई धामाधम चलिरहेको छ’ देवकोटाले भने, ‘चैते धान ढिला पाकेको र लगाइएको मकै नपाकेका कारण ढिला रोपाई भएको हो ।’ जिल्लाको नीलकण्ठ नगरपालिका, सल्यानटार, गजुरी, नौविसे, जीवनपुर, गोगनपानी, कल्लेरी, ज्यामरुङ, सांकोष, त्रिपुरेश्वर, मार्पाक र दार्खा धान खेती हुने पकेट क्षेत्र मानिदै आएको छ ।

समयमै वर्षात भएकै कारण गत वर्षको तुलनामा यसवर्ष धेरै खेतहरुमा रोपाई सकिएको जिल्ला कृषि विकास कार्यलय धादिङले जनाएको छ । मनसुन पूर्ण रुपमा सक्रिय भई सबै ठाउँमा एकैनासले पानी परेपछि गत वर्षको तुलनामा यस वर्ष जिल्लाको अधिकांश धान फल्ने क्षेत्रमा रोपाई सकिएको छ । जिल्लाका अधिकांश स्थानमा रोपाई सकिएपनि कतिपय स्थानमा भने मकै नपाकेकाले मकै लगाइएका खेतमा रोपाई गर्न बाँकी नै रहेको देवकोटाले जानकारी दिए ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३३ प्रतिशत योगदान रहेकोमा धानको मात्र १० प्रतिशतभन्दा माथि रहेको छ । हाल नेपालमा धान खेती हुने जमिन वार्षिक रूपमा ६ प्रतिशतले घट्दै गइरहेको तथ्यांकले देखाएको छ । बर्सेनी उर्वर भूमि घरघडेरीका लागि उपभोग हुँदै जानु, कृषिमा जनशक्तिको अभाव, जग्गा प्लटिङ गरी बाँझै राख्नु आदि कारणले खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै गइरहेकाले चामलको उच्च मागलाई धान्न धानको उत्पादकत्व बृद्धि गर्नु आवश्यक रहेको विज्ञको भनाइ छ ।

२०७५ साउन १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: