
२७ जेठ, धादिङ –
पृथ्वी राजमार्ग वरपरको बजारमा बेच्न राखिएको म्याद नाघेका खाद्य पदार्थ बरामद गरेको छ ।
जिल्लास्तरीय अनुगमन समितिले नौबीसे र धार्केमा एक सातापछिको उत्पादन मिति राखेर पठाइएका केकलगायत बेकरी बरामद गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालको संयोजकत्वमा खटेको टोलीले राजमार्गका होटल तथा पसलहरुमा अनुगमन गरी म्याद गुज्रेका सामान बरामद गरिएको हो ।
यहाँका व्यापारीले सार्वजनिक सवारीसाधनका सयौं यात्रुसँग कोक, रेडबुल, कुरकुरे, आलु चिप्स र विभिन्न चकलेटलगायत जंकफुड खरिद गर्दा मूल्यभन्दा दोब्बर रकम लिएर ठगी गर्ने गरेको गुनासो छ । अनुगमन समितिले राजमार्गका विभिन्न थोक विक्रेताले जिल्लाकै दक्षिण भेगमा रहेका ग्रामीण बजार तथा चेपाङ बस्तीमा पनि म्याद नाघेका सामान पठाउने गरेको फेला पारेको छ । स्थानीय प्रशासनले म्याद नाघेका त्यस्ता खाद्य वस्तु नियन्त्रणमा लिएको जनाएको छ ।
टोलीले म्याद नाघेका चाउचाउ, बिस्कुल, कोक, रेडबुल, कुरकुरे, आलु चिप्स लगायतका सामानहरु बरामद गरेको हो । एकातिर म्याद गुज्रेको खानेकुरा अर्कोतिर दोब्बर रकम तिरेर बेच्ने गरेको पाइएको छ ।
२०७५ जेठ २७ गते प्रकाशित