२० जेठ, धादिङ/ मनिष दुवाडी
समयमा नै विद्युत महशुल नतिर्ने ग्राहकहरुको विद्युत लाइन काट्न थालिएको छ । धादिङको धार्के सव स्टेशन गजुरी सव स्टेशन र धादिङवेशी शव स्टेशन अन्तरगतका लामो समयसम्म विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले जानकारी दिएको छ ।
विद्युत महशुल नतिर्नेमा सरकारी कार्यलयहरु नै अगाडी देखिएका छन् । गत साताबाट लाइन काट्ने अभियान सुरु गरिएपछि सरकारी कार्यलय सिंचाइ कार्यलय, कर्मचारी मिलन केन्द्र, राष्ट्रिय अनुसन्धान, जिल्ला हुलाक कार्यलय, महिला विकास कार्यलय लगायत लाइन काटिएको थियो । विद्युत लाइन काटिए लगत्तै सवै कार्यलयहरुले महशुल भुक्तान गरेर पुनः विद्युत जडान गरेको प्राधिकरणले जनाएको छ । अन्य सरकारी कार्यलयहरु जिल्ला प्रशासन कार्यलय, जिल्ला कारागार लगायतले पनि विद्युत लाइन काट्न थालेपछी महशुल भुक्तानीमा चासो देखाएका छन ।
महशुल तिर्न पटक पटक ताकेता गर्दा पनि अटेर गरिएकाले लाइन काटिएको विद्युत प्राधिकरण जिल्ला शाखा धादिङका प्रमुख ध्रुवराज कार्कीले जानकारी दिए । उनले भने, ‘विद्युत लाइन काट्ने काम नियमित प्रक्रिया हो, कर्मचारी अभावका कारण विद्युत प्रशारण लाइन बनाउन र मर्मत गर्न नै कर्मचारी खटिनुपरेकाले हामीले नियमित रुपमा यो काम गर्न पाएका थिएनौ । यो कुनै विशेष अभियान भन्दा पनि विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्ने नियमित प्रक्रिया हो ।’ कार्यलयका अनुसार महशुल नतिरको ३ महिना भएको र विद्युत महशुल ५ हजार भन्दा बढी हुनेहरुको विद्युत लाइन काट्न थालिएको हो ।
प्राधिकरणले १ साताको अवधीमा ७० जनाको विद्युत लाइन काटिदिएको थियो । कार्यलयको लेखा शाखाका अनुसार अनुसार २ करोड ७५ लाख ६९ हजार २ सय ६३ रुपैया उठ्न वाँकी रहेको छ । ७० जना उपभोक्ताको विद्युत लाइन काटिदिएपछि ५५ जनाले महशुल भक्तान गरेर विद्युत लाइन जोडिसकेका छन् । विद्युत लाइन काट्ने अभियान सुरु गरेपछि कुल २७ लाख ४७ हजार ४ सय ८८ रुपैया महशुल उठिसकेको छ ।
धेरै पैसा तिर्न वाँकी उपभोक्ताहरुको विद्युत लाइन विना कुनै जानकारी नै काटिने भएकाले सवै सर्वसाधारण र संघसस्थालाइ समयमै आफ्नो वाँकी बक्यौता महशुल तिर्न विद्यूत प्राधिकरण धादिङ शाखाले अनुरोध गरेको छ ।
२०७५ जेठ २० गते प्रकाशित