

२८ वैशाख, काठमाडौँ –
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि आज जनकपुर आउँदै छन् । दुई दिने नेपाल भ्रमणका लागि मोदी भारतीय सेनाको हेलिकप्टरबाट बिहान सवा १० बजे जनकपुर आउने कार्यक्रम छ ।
जनकपुरमा उनले जानकी मन्दिरमा विशेष पूजा गर्नेछन् । त्यसपछि ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा उहाँको अभिनन्दन एवं सम्बोधनको कार्यक्रम रहेको छ । विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेशका मन्त्रीहरुले मोदीको स्वागत गर्नेछन् । मोदीले जानकी मन्दिरको पूजा गर्ने बेला एक सय एक साधुले एकैपटक शंखनाद गर्नेछन् । मोदीले झण्डै ४५ मिनेट जानकी मन्दिरमा बिताउनेछन् ।
जनकपुरमा नै मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने र दुवै प्रधानमन्त्रीको भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैक्रममा दुवै प्रधानमन्त्रीले रामायण सर्किटको संयुक्त रुपमा उद्घाटन गर्नेछन् । रामायणकालीन स्थल जोड्ने रामायण सर्किटको जनकपुरबाट अयोध्या चल्ने बससेवालाई हरियो झण्डा देखाएर दुवै समकक्षीले उदघाटन गर्नेछन् ।
मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट जनकपुर चुरोट कारखानामा ओर्लेर मोदीलाई स्वागतगर्ने कार्यक्रम छ । बाह्रविघा मैदानमा आयोजना गरिएको ‘नागरिक अभिनन्दन’ समारोहमा मोदीलाई जनकपुर उपमहानगरपलिकाका मेयर लालकिशोर साहले अभिनन्दन गर्नेछन् ।
२०७५ बैशाख २८ गते प्रकाशित