सरिता श्रेष्ठ
१५ चैत, धादिङ – एमाओवादी सहित ३० दलीय मोर्चाले धादिङबेसीमा निकालेको लाठी जुलुसलाई प्रहरीले तितरवितर पारेको छ ।
मोर्चाले धादिङबेसीको पुछारबजारबाट निकालेको लाठी सहितको जुलुसको लाठि प्रहरीले केही बेरमा नै खोसेको हो । आन्दोलनकारीले बोकेको लाठी खोस्ने क्रममा केही आन्दोलनकारी सामान्य घाइते भएका छन् ।
झडपमा एमाओवादी धादिङका सहसचिव मनराज भण्डारी, पूर्व जनमुक्ति सेनाका लक्ष्मण रम्तेल, एमाओवादी कार्यकर्ताका धु्रव विक्रम मल्ल, बेनीघाट गाँउ विकास समितिका उपाध्यक्ष धु्रव रुवाली, एमाओवादी कल्लेरी गाँए पाटी समितिका अध्यक्ष रामशरण सिन्चुरी, लक्ष्मण रम्तेल, लगायत घाइते भएका छन् ।
लाठी बोकेर नारावाजी गर्दै सडकमा निस्किएका आन्दोलनकारीको लाठी खोस्ने क्रममा प्रहरीले बल प्रयोग गर्न थालेपछि केहीबेर भागदौड मच्चिएको थियो । प्रर्दशनकारीले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेको थियो । प्रहरीले लाठी खोसेपछि एमाओवादी कार्यकर्ताले गृह मन्त्रालयको विरुद्ध नाराबाजी गरेका थिए । लाठी प्रदर्शन पछि बीचबजार चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै एमाओवादी केन्द्रिय सदस्य पुष्पविक्रम मल्ल, एमाओवादी धादिङ अध्यक्ष रामबहादुर भण्डारी लगायतले आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै गृह मन्त्रीको समेत राजिनामा माग गरेका थिए ।