
१९ चैत,रत्ननगर
भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ।
फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेकाबेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गरेकि हुन्।
धुर्मुस–सुन्तली फाउण्डेसनले प्रदेशन नं ३ का विभिन्न क्षेत्रमा रंगशालाका लागि जग्गा खोजी गरिरहेको थियो । महानगर प्रमुख दाहालले पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २० मा निर्माण हुँदै गरेको रंगशालाको मैदान उपलब्ध गराउन महानगर तयार रहेको बताइन्।
उनले आवश्यक पर्ने आर्थिक र भौतिक सहयोग गर्नसमेत तयार छ भन्दै आजै बोर्ड बैठकबाट अनुमोदन गरेर फाउण्डेसनलाई पत्राचार गरिने उल्लेख गरिन्। चित्रवन रंगशाला भएको ठाउँमा क्षेत्र विस्तार गरेर क्रिकेट रंगशाला बनाउन सकिने महानगर प्रमुख दाहालको भनाइ थियो।
तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवन प्याकेज घोषणाका क्रममा उक्त रंगशालाका लागि रु ५० लाख विनियोजन गरेका थिए।
त्यसमा रु १९ लाखमात्रै खर्च भएको र अरु रकम फर्किएको थियो । अहिले भरतपुर महानगरले उक्त रंगशालाका लागि रु एक करोड बजेट छुट्याएको जनाएको छ।
यसअघि चितवनको रत्ननगरस्थित टिकौली चौरमा क्षेत्रीय रंगशाला निर्माण गर्न भनेर मन्त्रीबाटै शिलान्यास गरिएको कामसमेत अधुरो छ । चितवन जिल्लामा खेलकूद मैदानको अभाव छ।
२०७४ चैत १९ गते प्रकाशित