
१२ चैत, चितवन
पर्साको ठोरीवासीले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग ठोरीलाई प्रदेश ३ मा गाभ्न अनुरोध गरेका छन् ।
ठोरी नाकाको स्थलगत अवलोकनका लागि त्यहाँ पुगेका मुख्यमन्त्री पौडेलको स्वागत गर्दै स्थानीयवासीले ठोरीलाई प्रदेश २ बाट प्रदेश ३ मा लैजान भनेका हुन् ।
ठोरी गाउँपालिका(१ का वडाध्यक्ष रामशरण कुँवरले ठोरीलाई प्रदेश ३ मा गाभ्न पटकपटक प्रयास गरिएपनि सफल नभएको गुनासो पोखे । उनले मुख्यमन्त्री समक्ष ठोरीका जनता र जनप्रतिनिधिको भावनाको सम्मान हुनुपर्ने बताए । मुख्यमन्त्री पौडेलले जनताको भावनाको सम्मान राज्यले गर्नुपर्ने भन्दै प्रदेश ३ का लागि पनि एक नाकाको आवश्यकता रहेको बताए ।
उनले प्रदेश ३ का लागि सबैभन्दा उपयुक्त नाका ठोरी नै हुने भन्दै प्रदेश २ सँग आवश्यक छलफल र सहमतिमा अघि बढ्ने बताए ।
२०७४ चैत १२ गते प्रकाशित