
४ माघ, धादिङ
सिमरा खानेपानी चुनाव
सिमरामा खानेपानीको ब्यवस्थापन गरिरहेको सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितीको नयाँ कार्यसमितीको निर्वाचन नजिकिदै गर्दा नयाँ नेतृत्वका लागी आकाँक्षी तिन समुह चुनाबी मैदानमा होमिएका छन् ।
नेतृत्वका लागी राजनैतिक भागबण्डा अनुरुप दलहरुले आफ्नो प्यानल सहित उम्मेदवारलाई मैदान उतारेका छन् । बाम गठबन्धनबाट साझा उम्मेदवारका रुपमा माओबादी केन्द्रका प्रेम बराल सहित प्यानलले निर्वाचनमा जित सुनिश्तिताका लागी राजनैतिक लबिङ सहित भोट मागिरहेका छन् । त्यस्तै नेपाली काँग्रेसका राजकुमार भट्टराई सहितको प्यानल नेतृत्वका लागी चुनाबी प्रचारमा ब्यस्त छन् ।
यता दुई कार्यकालको नेतृत्व सम्हालेका अहिलेका अध्यक्ष कासिम हुसेन भने बलिया र उपभोक्ताले रुचाएका उम्मेदवारका रुपमा देखिएका छन् । हुसेन एमालेका पुराना कार्यकता हुन् । खानेपानीका प्राय सबै उपभोक्ताले आफुलाई बिश्वास गर्दै एक कार्यकालको नेतृत्वको माग गरिरहेको भन्दै उनले पछि नहट्ने धारणा ब्यक्त गरे ।
प्रस्तुत छ उहाँसंग गरिएको एक अन्र्तवार्ता
- तपाईको दुई कार्यकाल नेतृत्व सफल भएको कसरी पुष्टी गर्नुहुन्छ ?
म पहिलो पटक २०६६ सालमा नेतृत्व सम्हालेर जाँदा बस्ने कार्यालय थिएन । कोषमा ८ लाख जम्मा पैसा थियो । मैलो कार्यकाल सम्हाले लगत्तै करिब ३ करोडको बजेट ब्यवस्थापन गरेर तराई यातायात अगाडी ओभरहेड टयाँङ्की बनायौँ । लगत्तै दुई तल्ले कार्यालय भवन बनायौँ । हाम्रै पहलमा सुर्य नेपालको अनुदानमा ६२ केबिएको जेनेरेटर स्थापना गरियो । अब दोश्रो कार्यकालमा सिमरा खानेपानी आयोजनालाई थप ब्यवस्थापनका लागी ५ करोड बराबरको आयोजना रातो कितावमा पार्न सफल भएका छौँ । जसमध्ये सुरुको किस्ता १ करोडबाट काम पनि सुरु भइसकेको छ । नयाँ ओभरहेड टयाँङ्कीको पनि लगभग ७० प्रतिशत काम पुरा भइसकेको छ । हामीले १३ सय धाराबाट ३३ सय धारालाई पानी दिइरहेका छौँ भने हाम्रो नगर मौजाद करिब डेढ करोड पुर्याएका छौँ । यो सफल नेतृत्व होइन ? - नयाँ कार्यकालका लागी तपाई नै किन आवश्यक ?
हेर्नुस, मेरो चाहना भनेको अरु एक कार्यकालसम्म बसेर अधुरा आयोजना सम्पन्न गर्ने मात्र हो । रामबनको खानेपानी आयोजनालाई पुरा गर्नुछ । सिमरा आसपासमा पुराना भएका पाईपलाई हटाएर नयाँ पाईप बिछ्याउने काम पुरा गर्नु छ । अन्य राष्टिय आयोजनाहरु समेत प्रकृयामा छन् । त्यसैले मैले मेरो मात्रै चाहनाले भन्दापनि आम उपभोक्ताले मलाई आग्रह गरेपछि उम्मेदवारी दिएको हो । - अनि नयाँ आउने नेतृत्वले यो अधुरा काम पुरा गर्न सक्दैनन् र ?
आयोजना सुरु गर्नेलाई काम गर्न सजिलो हुन्छ । नयाँ आउनेलाई परिवेश बुभ्mन मात्रै पनि महिनौ लाग्छ । जस्तै कि, अहिले हामीलाई विभागमा जादाँपनि परिचय दिइरहनु पर्दैन , जिल्लाबाट जुन किसिमको सहयोग भइरहेको छ , नयाँ नेतृत्व आएपछि त्यो सम्भव नहुन सक्छ । किनभने तपाईले हेर्नुभएकै छ , म भन्दा अघिल्लो कार्यकालले के के गरे भनेर, सरकारले जिम्मा लिएको सामान्य ब्यवस्थापन खर्चपनि उनीहरुले ल्याउन सकेनन् । तर म आइसकेपछि २० बर्षपछिको परिकल्पनामा आयोजना अगाडी बढाउन सफल भयौँ । - तपाईलाई यसपटक पार्टी नेतृत्वले किन विश्वास गर्न सकेन ?
नेकपा एमाले भनेको तिन चार जनाको मात्र पार्टी होइन । कोठामा चार जना नेताले आफ्नो स्वार्थ पुरा गर्न म बिपरित निर्णय गर्दैमा म माथी अविश्वास गरियो भन्न मिल्दैन होला । किनभने आम जनताको भावना अनुरुप पार्टीले प्रतिनिधित्व गर्ने हो । पार्टीका नेतृत्वकर्ता स्वयक्षाचारी भएपछि मैले यो निर्णय लिन बाध्य भएँ । उनीहरुले पार्टी भन्दापनि गुटको नेतृत्व गरिरहेका छन् । तर म नेकपा एमाले भन्दा बाहिर छैन । - खानेपानी उपभोक्तहरुले तपाईको उम्मेदवारी प्रति कस्तो प्रतिक्रिया दिइरहेका छन् ?
आम उपभोक्ताले मेरो थप एक कार्यकाल खोजिरहेका छन् । किनभने पाँच बर्षदेखि पानीको माग गरिरहेको स्थानियले मैले नेतृत्व सम्हालेदेखि नै सबैतिर ब्यवस्थापन गर्न सकेँ । त्यसैले उपभोक्ता मेरो पक्षमा बलियो भएर उभिएका छन् । र मलाई यो पनि विश्वास छ , भोट माग्न जो जो गएपनि मुखमा हुन्छ भन्लान तर उनीहरुको मनमा म छु । - पार्टीको निर्णय विपरित गएको भन्ने आरोपमा तपाईलाई पार्टीले कारवाही गर्न सक्ला भन्ने लाग्दैन ?
२०४७ सालदेखी म पनि पार्टीमा लागेको मान्छे हो । विधिविधान मैले पनि अध्ययन गरेको छु । अहिलेको अध्यक्ष र म त्यो बेला सचिव र उपसचिव भएर पार्टी चलाएको हो । त्यसैले सुर्य चिन्ह र मुल्य विपरित कोही जान्छ भने मात्र पार्टीलाई कारवाही गर्न सक्ने अधिकार छ । कुनैपनि संघसंस्थामा पार्टीले हुइप लागु गर्र्दैमा त्यो मान्नैपर्छ भन्ने जरुरी हुँदैन । - तपाईका प्रतिस्पर्धी उम्मेदवारहरुलाई कुन रुपले हेर्नुभएको छ ?
हेर्नुस, प्रतिस्पर्धीलाई कहिले कमजोर सोच्नु त हुँदैन । प्रेम जी संग त धैरै ठाउँमा सहकार्य गरेर काम गरेको अनुभव छ । कुनै समय उहाँपनि माओबादी वैध समुहमा रहँदा उहासंग सँगै सहकार्य गरेर पनि चुनावमा लडेको अनुभव छ । उहाँ पनि राजनैतिक हैसियत बलियो बनाएको मान्छे हो । अझ खास भन्ने नै हो भने त, उहाँ जस्तो एउटा पार्टीको जिल्लातहमा बसेर काम गरेको मान्छेले यस्ता संघसंस्थाहरुमा चुनावी प्रतिस्पर्धामा आउनु हुँदैनथ्यो होला जस्तो लाग्छ । उहाँ आफैँले पदको लोभमा परेर चुनाव लडनुको सट्टा बिकल्प खोजेको भए राम्रो हुन्थ्यो होला । त्यसैले मेरो २ कार्यकालको अनुभव र जनताको भनाई अनुसार उहाँ म भन्दा कमजोर नै हुनुहुन्छ । यता भट्टराई जी त मेरो भाई नै हुन् । उहाँ पनि खेल जगतमा ठुलो योगदान पुर्याएर चर्चामा आउनुभएको मान्छे हो । तर उहाँको यो खानेपानीको क्षेत्र नयाँ हो । मानिस सबै क्षेत्रका निपुर्णता हासिँल गर्न सक्दैन । बरु उहाँहरुले हाम्रै कमिटीमा अरु पदाधिकारीहरुको पद लिएर सहकार्य गरेको भए राम्रो हुन्थ्यो होला । अझ पनि उहाँहरुको प्यानललाई ढोका खुल्ला गरी स्वागत नै गर्न तयार छौँ । - अन्तिममा के भन्नुहुन्छ ?
म यही भन्न चाहन्छु , हामी पदको लालचले नेतृत्वमा आउन खोजेको होइनौँ । हामीलाई अधुरा आयोजनाको चिन्ता छ । जसरी हुन्छ सिमरामा खानेपानीको ब्यवस्थापनका लागी हामी कसरत हुँदाहुँदे पदको अवधी सकियो । त्यसैले एक कार्यकालमा हामी सिमरामा नमुना अभ्यासका साथ उपभोक्तालाई सरल र भरपर्दो पानीको ब्यवस्थापनका लागी जिम्मेवारी लिन तयार छौँ । त्यसैले हाम्रो प्यानललाई उपभोक्ताकै मतले बिजय गराउनेमा हामी विश्वस्थ छौँ ।
२०७४ माघ ४ गते प्रकाशित