
३० पुस, चितवन –
सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन चितवनमा जलपक्षी (पानी चरा) को गणना सुरु भएको छ ।
अवस्था पत्ता लगाइ चराको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना थालिएको हो । चितवनको कुमरोजबाट शनिबारदेखि चरा गणना थालिएको पक्षीविद् तथा वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विंडारीले बताए ।
शनिबार जिन्दगानी घाट, सौराहा घाट बूढी राप्ती, ढुंग्रे खोलामा चरा गणना भएको र आज सौराहाबाट शुरु गरी चितवन निकुञ्जको कसरा पुल, लामिताल, तमोर ताल र गरुड तालमा गणना हुने विंडारीले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्ज र वर्ड एजुकेशन सोसाइटी चितवनको अगुवाइमा शुरु भएको गणना कार्यअन्तर्गत सोमबार भने रामसार सूचीमा सूचीकृत बिसहजारी ताल क्षेत्रमा गणना हुने जनाइएको छ । अघिल्लो गणनामा चितवनमा ५४ प्रजातिका जलपक्षी भेटिएको थियो ।
उनका अनुसार चरा गणना कार्य केही दिन चल्नेछ । चितवनमा चराको क्षेत्रमा काम गर्दै आएका ३६ जना स्वयंसेवकले चराको गणना गरिरहेका छन् ।
नेपालको शुक्लाफाँटा र कोशीटप्पुबाट भने पुस २२ बाट गणना शुरु भएको थियो । गणनामा नेपालमा ३०० स्वयंसेवक तथा चरा विज्ञको सहभागिता रहेको चरा पक्षीविद् संघ नेपालकाका प्रमुख डा। हेमसागर बरालले जानकारी दिए ।
२०७४ पुस ३० गते प्रकाशित