Thu. Mar 6th, 2025

धादिङमा मापदण्ड विपरित ग्यास उद्योग संचालन

सरिता श्रेष्ठ /११ पुस, धादिङ –

जिल्लाको राजमार्ग आसपासको क्षेत्रमा ग्यास उद्योग बढ्दै गएको छ । धादिङ जिल्ला प्रवेशद्धार धुनिवेसी नगरपालिकाको खानीखोला देखि वेनिघाट रोराङ गाउँपालिकाको मझिमटारसम्म १९ ओटा ग्यास उद्योग संचालनमा छन् । संचालनमा रहेका ग्यास उद्योगहरु कतिपय मापदण्ड विपरित बस्ती र राजमार्ग छेउमा संचालनमा छन् । धुनीबेसी नगरपालिका वडा न. ६ चालिसेमा रहेको सिद्धार्थ ग्यास राजमार्गबाट १५ मिटर नजिकै छ । सिद्धार्थ ग्याँसको करी ३ सय मिटर नजिकै एचपी ग्यास पनि संचालनमा रहेको छ । बस्तीको बीचमा उद्योग संचालनले स्थानीयमा जोखिम निम्ताएको छ । बजार क्षेत्र पनि नजिकै भएका कारण बाक्लो बस्ती छ । सरकारले तोकेको मापदण्ड विपरित यसरी ग्याँस उद्योग संचालनले स्थानीयमा त्रास उत्पन्न गराएको छ ।

थाक्रे गाउँपालिका वडा नं ७, सातकिलामा २०६५ सालदेखि संचालनमा आएको श्री ग्यास उद्योग राजमार्गबाट करीब सय मिटर दुरीमा छ । ‘बस्ती बढ्दा स्थानीयलाई मात्र होइन हामीलाई पनि गाह्रो भएको छ ।’ श्री ग्यासका प्रमुख पुस्तक चौलागाईले भने, ‘उद्योग सुरु गर्दा एक, दुई घर मात्र थिए अहिले बस्ती धेरै थपिएकाले समस्या बढेको हो’ । ४१ रोपनी जग्गामा संचालन गरिएको उद्योगमा श्री ग्याँसको बुलेट संख्या ६ ओटा छ । १ लाख सिलिन्डर रहेको श्रीले दैनिक ३५ सय सिलिन्डर बजार पठाउँछ ।

राजमार्गमा दैनिक सयौ सवारी आवातजावात गर्छन् । बस्तीहरु पनि नजिकै छन् तर ग्यास उद्योग धमाधम संचालनमा छन् । ग्यास उद्योग संचालनका लागि सरकारले बस्तीबाट टाढा हुनुपर्ने भनेर मापदण्ड बनाएको छ तर उद्योग संचालन बस्ती नजिकै संचालनले जोखिम बढाएको छ । बस्तीकै छेउमा ग्यास संचालनले जोखिम थपिएको थाक्रेका स्थानीय धर्मराज जोशीले बताए । ग्यास उद्योग बस्तीबाट टाढा लैजान स्थानीयले पटक पटक अनुरोध गर्ने गरेको जोशीले बताए । उनले भने, ‘ग्यास संचालक उद्योगमा भेटिदैन, कामदारलाई भन्यो वास्ता नै गर्दैनन् हामी स्थानीय डरैडरमा बस्नु परेको छ ।’ कतिबेला के घटना हुन्छ पत्तो हुँदैन सरकारले पनि यस्ता उद्योगको अनुगमन निरन्तर गर्नुपर्छ, स्थानीयको एउटै आवाज छ । तीन वर्षअघि यसै उद्योगमा ग्यास लिग भएर धुवा निस्किएको थियो । ग्यास उद्योग वरिपरी लिक भएर ग्यास गन्हाइरहेका हुन्छन् ।

धादिङमा ग्याँस उद्योगको स्थापना २०६३ मा भुमेस्थान–९ खयरघारीमा ओम ग्याँसबाट सुरु भएको हो । नौबिसेमा तीन, थाक्रेमा दुई, भुमेस्थानमा दुई, बैरेनीमा एक, गजुरीमा एक, बेनिघाटमा दुई, धुसामा एक र जोगिमारामा एउटा ग्याँस उद्योग स्थापना भएको छ । यी सबै उद्योगको लक्ष्य काठमाडौंको बजारलाई ग्याँस आपूर्ति गर्ने रहेको छ । मुख्यतया राजधानी काठमाडौँ, पोखरा, गोरखा, लमजुङ, चितवन, म्याग्दी, बागलुङ, नुवाकोट र रसुवामस आपूर्ति गर्दै आइरहेका छन् । तर उद्योगले आपूर्ति गरे अनुसार ठूला उद्योगले सुरक्षाप्रति चासो दिएका छैनन् । ग्याँस उद्योगको स्थापना संगै सुरक्षा चुनौतीको पनि चाङ थपिएको छ । बिरगन्जमा भएको ग्यास आगलागीको घटनापछि उद्योगमा कार्यरत मजदुर र आसपासका वासिन्दा त्रसित हुन पुगेका छन् ।

प्रचलित कानुनको समेत ख्याल नगरी स्थापना भएका कतिपय उद्योग वातावरणमैत्री छैनन् भने राजमार्ग र नदीबीच हुनुपर्ने दूरीको समेत ख्याल नगरी मापदण्ड मिचेर संचालनमा ल्याइएका छन् । यसबाट आसपासका बस्ती र उद्योगमा काम गर्ने मजदुरको सुरक्षा चुनौती थपिँदै गएको छ । जोखिमयुक्त उद्योगले सञ्चालन अनुमति लिँदा गरेका लिखित सर्तसमेत पालना गरेका छैनन् । सरकारको स्वामित्व रहेको साल्ट ट्रेडिङ कम्पनीको मेट्रो काठमाडौं ग्याँस पनि राजमार्गबाट नजिकै र बस्ती नजिकै छ । एसटीसी ब्रान्डमा ७५ हजार सिलिन्डर रहेको उद्योगले दैनिक १ हजार सिलिन्डर काठमाडौं पठाउँछ । तर सरकारकै स्वामित्वमा रहेको उद्योग बस्ती नजिकै हुदाँ स्थानीयलाई जोखिम निम्ताएको छ ।

धमाधम बस्ती विकास भइरहेका राजमार्ग वरपरका क्षेत्रमै हचुवामा उद्योग सञ्चालन अनुमति दिइएको प्रशासनकै कर्मचारी स्वीकाछन् । प्रमुख राजमार्ग, मानवीय बस्ती, विद्यालय, होटल, अस्पताल लगायत सार्वजनिक स्थल, सामुदायिक वनबाट निश्चित दूरीमा रहने सर्तमा ग्यास भर्ने प्लान्ट र पेट्रोलियम पदार्थ बेच्ने पम्पलाई सञ्चालन अनुमति दिने कानुनी प्रावधान छ । तर यहाँ धेरै वटा प्लान्ट र पम्प सय मिटरकै आसपासमा छन् । ग्यास उद्योगले सुरक्षाका उपाय नअपनाएको त्यहाँ कार्यरत मजदुरहरुको गुनासो छ । ८ वर्षदेखि ग्यास उद्योगमा काम गर्दै आइरहेका थाक्रेका तिलक सुवेदी ग्यास उद्योगले सुरक्षाको प्रबन्ध नगरिदिदाँ कामगर्ने मजदुर जोखिम मोलेर काम गर्नुपर्ने बताउँछन् । उद्योगमा काम गर्दा कुनै किसिमको तालिम तथा सीप नलिएको र मालिकको अनुमतिमा काम गर्नु पर्ने मजदुुरहरु बताउँछन् ।

ग्यास उद्योग आसपास रहेका बस्ती तथा उद्योगमा काम गर्ने कामदारका लागि सामान्य सुरक्षा व्यवस्था गरेको संचालकहरुले दाबी गर्दै आइरहेका छन् तर उद्योग आसपासका स्थानीय भने जोखिम मोलेर बस्नु परेका बताउँछन् । जोखिमयुक्त उद्योगले सञ्चालन अनुमति लिँदा गरेका लिखित सर्तसमेत पालना गरेका छैनन् । स्थानीय निर्मला पन्त भन्छिन, ‘बस्तीको सुरक्षा त परै, प्लान्टका कर्मचारी र मजदुरको सुरक्षासमेत छैन ।’ धेरै प्लान्टसँग ग्यास भर्ने पुराना सिलिन्डरको सुरक्षा परीक्षण उपकरण समेत छैनन् ।  कुनै घटना भइहाल्यौ भने पनि राजधानीबाटै दमकल बोलाउनुपर्ने बाध्यता छ । टाढा भएकाले समयमा दमकल आइपुग्दैन । सदरमुकाममा भएको दमकलले पनि राम्रोसँग काम गर्दैनन् ।

धादिङमा सुगम ग्याँस, सिद्धार्थ, एचपी ग्याँस श्रीराम, नमस्ते, गीता, श्रीकृष्ण ग्याँस लगायतका ग्याँस उद्योगहरु संचालनमा छन् । ग्यास उद्योगहरु सिधै उद्योग विभागमा दर्ता भइ संचालनमा आएका कारण जिल्लामा कुन ग्यास उद्योग कहिलेदेखि दर्ता भयो भन्ने बारे थाहा नभएको घरेलु तथा साना उद्योग विभाग धादिङका प्रमुख केदार खड्का अनविज्ञ छन् । धादिङ जिल्लामा संचालनमा रहेको ग्याँस उद्योगको बारेमा कार्यलयमा कुनै पनि जानकारी नभएको उनको भनाई छ । उद्योग विभागले बेलाबेलामा ग्यास उद्योगको अनुगमन समेत गर्ने गरेका छन् तर त्यसको खासै प्रभावकारीता देखिएको छैन ।

२०७४ पुस ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: