५ पुस, धादिङ–
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गल्छी–रसुवागढी राजमार्गलाई दुई लेनको बनाइने बताएका छन् । रसुवाको लाङटाङ र रसुवागढीको अवलोकन भ्रमणको क्रममा उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष ओलीले रसुवागढी–केरुङ अन्तर्राष्ट्रिय मार्गलाई व्यवस्थित गरिनुका साथै आउँदो चैत–वैशाखसम्ममा बेत्रावती–स्याँफ्रुवेंसी मार्ग सञ्चालनमा ल्याइने बताए । हाल त्यहाँ नेपाली सेनाले काम गरिरहेको छ ।
अध्यक्ष ओलीले भूकम्पबाट क्षतिग्रस्त लाङटाङ क्षेत्रको अवलोकनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे गाउँ कमिटीको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ सरकार चाँडै गठन हुने बताए ।
रसुवा भन्सार कार्यालयको व्यवस्थापन छिट्टै गरिने तथा रसुवागढी अन्तर्राष्ट्रिय नाका व्यवस्थित गरिने अध्यक्ष ओलीले बताएका छन् । गोसाइँकुण्ड तीर्थस्थल, लाङटाङ पर्यटकीय क्षेत्रको संरक्षण गरिने उहाँको भनाइ थियो । उहाँले रसुवागढी भएर रेलमार्ग सञ्चालनमा ल्याइने बताए ।
अध्यक्ष ओलीका साथमा एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी स्थायी समिति सदस्य सुवास नेम्बाङ, शंकर पोखरेल, जनार्दन ढकाललगायत नेता रहेका थिए ।
२०७४ पुस ५ गते प्रकाशित