१५ मंसिर, धादिङ–
धादिङमा ९८ जनामा एचआईभी संक्रमण भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यलय धादिङका अनुसार प्राय २० वर्षदेखि ४० वर्षसम्मका उमेर समूहका मानिसहरुलाई एचआइभी संक्रमण भेटिएको छ ।
एचआईभीरएड्स लागेका मध्ये अहिले ६५ जनाले जिल्ला स्वास्थ्य कार्यलय धादिङ बाट औषधी सेवन गरिरहेका छन् । औषधी प्रयोग गर्नेहरुमा ८ जना बालबालिका र बाँकी ५७ जना वयस्क व्यक्ति रहेको कार्यलयले जानकारी दिएको छ ।
मजदुरीका लागि विदेश जाने पुरुषहरुले असुरक्षित यौन सम्पर्क गर्दा संक्रमित भई घर आउँदा श्रीमती र जन्मने बच्चामा पनि एचआईभिको संक्रमण फैलने गरेको जिल्ला स्वास्थ्य कार्यलय धादिङका रामहरि रेग्मिले जानकारी दिए । साथै दिनहुँ हजारौ सवारी साधन चल्ने राजमार्ग क्षेत्रमा रहेका होटलहरुमा असुक्षित यौनव्यवसाय हुने भएका कारण पनि एचआईभिको संक्रमण फैलने गरेको उनले बताए । यसरी एचआईभि लागेका मध्य २९ जना महिला र ३१ जना पुरुष रहेका छन् ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार अहिले देशभर एचआइभी एड्स संक्रमितको संख्या ३२ हजार ७ सय ३५ छ । अघिल्ला वर्षको तुलनामा संक्रमितको संख्या घट्दै गएको छ । सन् २००५ देखि २०१६ सम्ममा विश्वव्यापी रूपमा एचआइभी एड्सका कारण ज्यान गुमाउनेको संख्या ४ सय ८५ ले कमी आएको छ ।
२०७४ मंसिर १५ गते प्रकाशित