२० कात्तिक, धादिङ –
जिल्ला अस्पताल धादिङमा डिजिटल एक्सरे सेवा संचालनमा आएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तरर्गत आपुर्ति महाशाखाले धादिङ जिल्ला अस्पताललाई डिजिटल एक्सरे सेवा उपलव्ध गराएको छ ।
अस्पतालमा विगतका दिनहरुमा प्रयोग हुदै आएको एक्सरे मेसिन बिग्रिएर बिरामीहरुले राम्रो उपचार पाउन नसकेपछि अहिले डिजीटल एक्सरे मेसिन संचालनमा आएको छ ।
काठमान्डौ तथा अन्य ठुला अस्पतालहरुमा यो सेवा संचालनमा आएपनि जिल्लामा भने पहिलोपटक यो सेवा संचालनमा आएको हो । पुरानो एक्सरे मेसिनमा भन्दा यस मेसिनमा काम गर्न छिटो र छरितो हुने जिल्ला अस्पताल धादिङका रेडियोग्राफी अधिकृत ठाकुर लम्सालले बताए ।
पुरानो मेसिनवाट एक्सरे गर्दा पानीमा चोपलेर धुलाउने गरिन्थ्यो भने अहिले विरामीको अभिलेख राख्न तथा पछिसम्मको लागि पनि रिपोर्ट राख्न सकिने र गुणस्तर र स्तरयुक्त हुने उनले बताए ।
डिजीटल एक्सरे सेवा संचालनको लागि एसी जडान हुनुपर्ने अस्पतालले जनाएको छ ।
२०७४ कात्तिक २० गते प्रकाशित