
दोलख गुरुङ / ४ कात्तिक, इजरायल –
इजरायलमा रहेका विभिन्न राजनैतिक दलसंवद्ध सम्पर्क समितिहरुद्धारा संयुक्त रुपमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति इजरायल , नेकपा एमाले निकट प्रवासि नेपाली मञ्च इजरायल, संघिय समाजवादी फोरम निकट नेपाल संघिय समाज, राप्रपा निकट प्रवासि एकता समाज ,नयाँ शक्ति नेपाल निकट अन्र्तराष्ट्रिय नेपाली समाज ,संघिय लुम्बुवान सामाजिक मञ्च लगायतका इजारायलमा संगठित र सक्रिय रहेका विभिन्न ६ वटा राजनैतिक दलसँग सम्बन्धित संगठनहरुले नेपालीहरुको विभिन्न राष्ट्रिय चाडपर्वहरु शुभ दिपावलि (तिहार),नेपाल संवत ११३८, छठ, उधौलि ,म्होपुजा, चासोकताङनाम, म्हेनिङ आदी पर्वहरुको अबसरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
इजरायलस्थित पुस्तकालय ,लेवन्स्की पार्क ,तेलअविभमा एसंयुक्त रुपमा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रममा विभिन्न राजनैतिक संघ–संगठन, सामाजिक तथा जातिय संघ–संगठनमा आवद्ध प्रमुख तथा प्रतिनिधिहरुका साथै इजरायलको विभिन्न स्थानमा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । इजरायलमा आउने र विभिन्न क्षेत्रमा काम गर्ने नेपालीहरुको संख्या बर्षेनि बढिरहेको छ ।
राजनैतिक भातृत्व,सामाजिक सद्भाव र धार्मिक सहिषुणता कायम राख्दै नेपाली नेपालीहरुबीच भाइचाराको सम्बन्ध कायम राख्नको लागि विगत केहि वर्षदेखि इजरायलमा रहेका विभिन्न राजनैतिक दलका प्रवासी भातृसंगठन र अन्य सामाजिक संघ–संस्थाहरुले संयुक्त रुपमा नेपालीहरुको विभिन्न राष्ट्रिय पर्वहरुको अवसरमा यस्ता कार्यक्रमहरु गर्दै आइरहेको प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष तिर्थ गौतमले जानकारी दिए ।
२०७४ कात्तिक ४ गते प्रकाशित