
३० असोज, काठमाडौँ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच हुने भनिएको खेल खराब मौसमका कारण रद्द भएको छ ।
खेल रद्द भएसँगै प्रतियोगिताको शीर्ष चारभित्र परेर एक दिवसीय विश्वकपका लागि छनोट चरण खेल्ने नेपालको सम्भावना पनि सकिएको छ ।
जारी प्रतियोगिताको शीर्ष चारभित्र पर्न नेपाललाई हङकङविरुद्धको यो खेल जित्नैपर्ने दबाब थियो । तर खेल रद्द भएसँगै नेपाल र हङकङ दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।
योसँगै नेपालले प्रतियोगिताका १२ खेलबाट ९ अंक मात्रै जोडेको छ । युएईसँग दुई खेल मात्रै खेल्न बाँकी छँदा नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।
समान खेलबाट १४ अंक जोडेको हङकङ चौथो स्थानमा रहेको छ । पाँचौ स्थानको केन्याको १२ अंक छ । ८ टोली सहभागि प्रतियोगितामा सबै टोलीले २र२ खेल खेल्न बाँकी छ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष चारभित्र पर्न नसकेपछि नेपाल स्वतः आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा झर्ने निश्चित भएको छ ।
डिभिजन टु प्रतियोगितामा शीर्ष दुईमा पर्ने सके नेपालले २०१९ मा इङ्ल्यान्ड र वेल्समा संयुक्त रुपले हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि छनौट चरणमा सहभागिता जनाउन पाउनेछ ।
२०७४ असोज ३० गते प्रकाशित