वासिंङ्टन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन २०१५ को चर्चित आणविक सम्झौतालाई इरानले पालना गरेको भनेर प्रमाणीकरण गर्न अस्वीकार गर्ने भएका छन । विश्व शक्तिहरु र तेहरानबिचको उक्त सम्झौता तेहरानको आणविक कार्यक्रमलाई गैरसैनिक प्रयोजनमा सीमित गर्न लक्षित थियो ।
ट्रम्पले प्रमाणिकरण नगर्नुको अर्थ अमेरिकी विधायकहरुले इरानविरुद्ध नयाँ प्रतिवन्धहरु लगाउनका निम्ति भोट गर्न सक्छन । यसबाट इरानलाई सम्झौताबाट आंशिक रुपमा वा पूर्णरुपमा पछि हट्नुपर्ने अवस्था आउने त्यहाँका नेताहरु बताउँछन ।
‘द इरान डिल’ वा ‘इरान न्यूक्लियर डिल’ भन्ने गरिएको संयुक्त विस्तृत कार्ययोजना(जेसिपिओए) इरान र जर्मनीसहित सुरक्षा परिषदका पाँच स्थाई सदस्यहरु र यूरोपेली यूनियनबीच भएको सम्झौता हो जसले इरानो आणविक कार्यक्रमलाई नागरिक प्रयोगमा सिमित गर्ने सुनिश्चित गरेको छ । सन २०१५ को अक्टोबरमा हस्ताक्षर भएको उक्त सम्झौता २०१६ बाट कार्यान्वयनमा आएको थियो ।
उक्त सम्झौताअनुसार इरानले मध्यम क्षमताको युरानियमको भण्डार पूर्णरुपमा खतम गर्नुपर्ने र न्यून क्षमताको यूरानियमको भण्डार उल्लेख्य रुपमा घटाउनुपर्ने हुन्छ । उच्च क्षमताको यो पदार्थ आणविक हतियार बनाउन प्रयोग गरिन्छ । इरानले कहिल्यै आणविक हतियार उत्पादनको लक्ष्य नरहेको दावी गर्दै आएको छ ।
ट्रम्पले यस सम्झौतालाई पटक पटक अहिलेसम्मकै सबैभन्दा खराब सम्झौताको संज्ञा दिने गरेका छन् र यसलाई च्यात्ने चेतावनी दिँदै आएका छन ।
यदि ट्रम्पले प्रमाणीकरण गर्न अस्वीकार गरे भने यो मुद्दा कंग्रेसमा जानेछ । सम्झौतामाथि बहस गर्न विधायकहरुसँग ६० दिनको समय हुनेछ । र, कंग्रेसले इरानमाथि थप प्रतिवन्धहरु लगाउने निर्णय लिन सक्नेछ ।