Tue. Mar 4th, 2025

“नेपाली आकाशमा मडारिइरहेको उत्तरी र दक्षिणी वायू”


 तिलक घिमिरे (निर्मल) –

नेपालको सबैभन्दा ठूलो पर्व २०७४ को वडादशै सकिए लगत्तै देशको राजनीतिक मौसम एकएक परिवर्तन भईरहेको छ । दशै सकिए लगत्तै एकाएक यस्तो परिवर्तनहरु उसरी सृजित भए सोको भेउ स्वयं सर्जकहरु नै अनभिज्ञ छन् । अचेल वातावरण्ीाय मौसममा केहि आद्रता देखिएता पनि राजनीतिक मौसममा भने चढ्नु पर्ने जति सेल्सियस तापक्रम क्रस गर्ने अवस्थामा छ । नेपाली राजनीतिमा के पछि के हुदैछ भन्ने अड्कल हामी जस्ताले त लगााउन सकिन्न भने दुरदरारमा रहेका र सुचनाको पहुँचबाट टाढा भएकाहरुलाई त झन् कत्ति गाह्रो होला । नेपाली राजनीति कोर्ष बुझ्नलाई यति जटिल भइसकेकको छ कि यसलाई जुनै युनिभर्सिटीको करिकुलममा समावेश गरिएता पनि उत्तिर्णांड्ढ सम्म ल्याउन मुस्किल हुने पक्का जस्तै छ ।

यस लेखको मक्सद पक्कै पनि यो होइन कि, स्तम्भकारको कुनै वाद र तन्त्रसँग निकट र टाढाको साइनो नलाग्ने भएकोले यस लेख पूर्वाग्रही रुपमा लेखिएको पनि होइन, राजनीतिक शास्त्रको विद्यार्थी भएको नाताले हाल मञ्चन भइरहेको ताण्डव नृत्य बुझ्न नसकिएको र कन्फ्यूजन् लागेको केहि जिज्ञासा मिश्रित अल्पज्ञान यस लेखमा पोख्ने प्रयास गरेको छु । यहाँ बुझ्न नकिएको कुरा भनेको जुनसुकै बुँदे राजनीतिक वा तालमेल जे भए पनि त्यो “नेपाली जनताको माग अनि हितका लागि” हो भनेर सबै नेताहरुले भन्दछन् तर मेरो भेजोले अहिले सम्म नबुझिएको कुरा भनेको चाही कुन सहमतिले कुन जनतालाई के चाही फाइदा पुग्यो त ? माओवादी–एमाले गठबन्धन, कांग्रेस–माओवादी गठबन्धन, अहिले वाम गठबन्धन पनि जनताको हित र भलाइका लागि भएको भनिदैछ तर माथि उल्लेखित गठबन्धनले चाही १, २, ३ गरेर भन्ने हो भने जनताहरुलाई के चाही फाइदा भयो त ? कुन गठबन्धनले जनतालाई भलाइ ग¥यो त ? जनतालाई अल्मल्याउने भाषा र कुतर्कले मात्र के सधै राजनीति चल्छ ? होइन भने हालसम्म ति कथाकथित तालमेल र गठबन्धनले तिनै नेता र उनीहरुको घरपरिवार बाहेक कसले के फाइदा गरे त ? अब यस्ता इलजिकल कुरा गरेर सर्वसाधारण जनतालाई अल्मल्याउने र दिग्भ्रमित बनाउने प्रचारबाजी नगरियोस् भन्ने यस लेखको मुल आशय हो ।

केहि समय अघि जति बेला माओवादी केन्द्र र नेपाली कांग्रसको गठवन्धन सरकार बन्दा ताका मैले “माक्र्सवाद र समाजवादको फ्यूजनः पुरै कन्फ्यूजन” आर्टिकल लेखेको थिए र सो को अभिप्राय– हिजोको दिनमा एकले अर्कालाई वर्ग सत्रु किटान गरी टाउकाको मूल्य समेत निर्धारण गरेकाहरुले लगाएको मित र कित्ताकाट गरी साँध–सिमाना छुट्याउनेहरु एउटै कित्तामा फित्ता फालेर उभिएका देख्दा यसले आम जनमानसमा सृजित तरंग अति बुझि नसक्नु बक्तव्यवाजी सुन्दा कन्फ्यूज भएको कुरा उल्लेख गरेको थिए र सो बेलै मैले यस्तो गठवन्धनले कत्तिको दिगो रुप दिने हो त्यो त निकट भषिष्यमा नै छर्लङ्ग हुने कुरा उल्लेख गरेको थिए । नभन्दै गठवन्धन सरकारले मुस्किलले केवल हमिमुन भन्दा अन्य मनाउन सकेन ।

यस अघि वि.सं. २०६३ साल देखि नै नेपाली राजनीतिमा “सबै कम्यूनिष्टहरु एकै हुनु आजको आवश्यकता हो” भन्दै केहि वामपन्थी नेताहरुले कुरा उठाउदै आएका थिए तर दुर्भाग्य नेपाली कम्युनिष्ट जति फुट्न जाने त्यति जुट्न जानेन । जसरी १ विगाह जमिन भएको हजुरबाको ५ भाई छोरा र छोराहरुको २÷२ वटा छोरा भएमा सो भाग लाग्दै जादा जति जमिन बाँकी हुन्छ सोही मुताविक प्रत्येक छोराहरुले अलग–अलग ताउलो बसाउन मात्र जाने । कम्यूनिष्ट नै भए पनि एमाले केहि नरम धारको नेतृत्व गर्छ भने माओवादी उग्रपन्थको । कम्युनिष्टहरुको मेलमिलाप हुनपर्दछ जति नै भने तापनि माओवादी प्रति कडा नीति लिएका वर्तमान एमाले अध्यक्ष के.पी. ओली यस प्रस्तावले एमालेलाई हानी गर्छ भनेर सकारात्मक देखिन्न थिए भने झलनाथ खनाल र माधव नेपाल न सकारात्मक न त नकारात्मक नै ।

संसदीय राजनीतिमा संसदवादी दलहरु पटक–पटक परिक्षण भइसकेका थिए भने भर्खरै हतिमार बिसाएर आएको माओवादी भने जनतावाट परिक्षण हुन बाँकी थियो । १० वर्षभन्दा लामो विद्रोहको नेतृत्व गरेकोले गरिब, निमुखा र अन्यायमा परेका सर्वसाधारण जनताको मनमा बास बसिसकेको हुनाले साथै अन्तरिम संसदमा एमालेको बराबरी हैसियतमा उपस्थित भएपछि उसले आफुलाई एमाले सरहको दम्भ देखाइसकेको थियो र त पहिलो संविधान सभाको पूर्वसन्ध्यामा यि दुई दल बीच तालमेलको गाँइगँुइ कुरा चलेको थियो तर यस प्रस्तावलाई एमालेले नकारिदियो । एमालेका नेताहरुले “तिमीहरुसंग तालमेल इस् गरौला” भनी लोक्पा खुवाईदिएपछि माओवादीहरु अत्यन्तै मर्माहत भएको थियो । यहि दुर्वचनलाई उसले ईख बनाई – “अरुलाई हे¥यौ पटक पटक, हामीलाई हेर्नुहोला एक पटक” भन्ने नाराका साथ संविधान सभा चुनावको मैदानमा उत्रिएपछि उसले एमालेलाई प्रत्यक्ष तर्फ करिब “क्लिन स्वीप” नै पारिदियो । तत्कालिन एमालका ठूला नेताहरु सबैलाई पराजित गरेपछि माओवादी एकाएक भिमकाय बनेपछि उसमा दम्भको पारो यति माथी पुग्यो कि सबै आफु अनुकुल निर्णय मात्र गर्न थाल्यो ।

यता चुनावमा लज्जास्पद तेश्रो पार्टीमा खुम्चिएपछि तत्कालिन सत्ता गठबन्धन एमाले र माओवादी इतरका बामनेताहरुले पूनः धु्रविकरण र तालमेलको बहश सुरु गरे तापनि सो ले मुर्त रुप लिन सकेन । एकले अर्काको सम्मानजनक अस्तित्व स्वीकार गर्न नसक्नु र गोप्य राख्ने भनिएतापनि वार्ताको विषयबस्तु निर्णय अगावै बाहिर आएकोले सो बेलाको चर्चित फुलबारी बैठक विना निचोड अन्त्य भयो । २०६५ सालमा माओवादी अध्यक्ष प्रधानमन्त्री र एमाले महासचिब राष्ट्रपति हुनेगरी सहमति भएको कुरा केही मिडियाले खबर बाहिर ल्याएका थिए तर माओवादी इतरका केही नेताहरुले नेपाललाई राष्ट्रपति नमानेपछि एमाले त्यसको इख साध्न नेपाली कांगे्रसको हवेली महाराजगंज पुग्यो र आफुलाई सभामुख दिएमा कांगे्रसलाई राष्ट्रपति र मधेसी दललाई उपराष्ट्रपति दिने सहमति गरी बल्खु फर्कियो ।

गणतन्त्र पछिको पहिलो सरकारमा माओवादीसंग सत्ता समिकरण गरेको एमालेले कटुवाल काण्ड पछि सरकार छोडिदियो र साना साना पार्टीहरुसंग मिल्दै माओवादीलाई सधै कर्नरमा पारिरह्यो भने अर्कातिर मोहन वैद्य लगायतका नेताहरुको बहिर्गमन र भारतसंग गरेको विवादास्पद विप्पा सम्झौता एवं आपसी टकरावले २०७० को चुनावमा माओवादी तेस्रो तर लज्जास्पद स्थितिमा खुम्चिन पुग्यो र अब हुंकार गर्ने पालो एमालेको आयो किनकी दोश्रो नै भएता पनि एमाले पहिलो दल कांगे्रस भन्दा केही मात्र सानो आकारको थियो । त्यसपछि त एमालेले माओवादीलाई प्राय निषेध नै ग¥यो । संविधान निर्माण पश्चात जब स्वर्गीय शुशिल कोइरालाले सत्ता छाड्न मानेनन् तब चिडिएको माओवादी जति नै तिखो टिप्पणी गरेपनि बरु “ओली नै जाति” भनेर एमालेलाई सरकार गठन गराई महत्वपुर्ण मन्त्रालयको स्वाद चाख्न गठबन्धन सरकार बनाउने सहमतिमा पुगे ।

ओलीको प्रधानमन्त्रीत्वकाल सुरुवातमा दुबै अध्यक्षहरुको मिलन अत्यन्तै सुमधुर कसिलो भए तापनि जब दाहालले दोश्रोपटक प्रधानमन्त्री बन्ने मनसाय राखी बुढानिलकण्ठ दरबारमा गई भोज खाए, तब ओलीले “ह्युमिलेशन फिल” गरी सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई सक्रिय गराई जनयुद्धकालिन मुद्दा व्युतिएमा आफ्ना धेरै कार्यकर्ता तितरवितर हुने डरले माओवादी अन्ततः एमालेको कित्ता छोडी कांग्रेससंग मिली आफ्नै नेतृत्वमा सरकार बनाउन सफल रह्यो भने कांग्रेस चाही आफ्नो विजय भन्दा पनि एमालेको पराजयमा थपडी बजाउन पुग्यो । कांगे्रसको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले नैतिकताको आधारमा राजिनामा दिई सत्ता बागडोरको खम्बा काँध फेर्न कांग्रेस सभापतिलाई दिए र स्थानीय तहको निर्वाचनमा तालमेल गरी मैदानमा उत्रिए तापनि जनताले सो समाजवाद र माक्र्सवादको फ्युजनलाई रुचाएनन् र फलतः गठबन्धनले माओवादीलाई ठूलो धक्का पुग्यो र कांग्रेसले पनि “बेकारमा गरिएछ” जस्तो व्यवहारबाट माओवादी पुरै चिढियो र दशै भन्दा केही अगाडि रन्थनिएर उत्तर हानिए ।

उत्तरबाट “हाम्रो सहयोग र समर्थन चाहिने भए तिमीहरु सबै कम्युनिष्ठहरु एक ढिक्का भएर आएको खण्डमा मात्र दशैमा हामीबाट शुभ आशिर्वाद पाउँछौं” भनेपछि सबैमा चेत खुल्यो र दशैको विदामा विभिन्न चरण चरणका वैठक, माइन्युट र निर्णयहरु गर्दै ६ बुँदे सहमतिका खाका यति गोप्य रुपमा कोरियो कि, संगै सुतेका मितलाई समेत थाहा भएनछ र त एक्कासी पत्रकार सम्मेलन सुन्दा पो तर्सिन पुग्यो र “यस्तो गठबन्धनले राष्ट्रमा अनिष्ठ हुन्छ” अब भन्न थाले । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको संघारमा यदि आपसमा मिल्न नसकिएको अवस्थामा प्रजातान्त्रिक धारको बहुमत आउँछ र बामपन्थीहरु पुनः अल्पमतमा रहिरहन्छ भन्ने सुझावले माओवादी कांग्रेसको कित्ता छोडेर बाबुरामलाई समेत कन्भिन्स गराई एमालेमा समाहित हुन आएको थियो किनकी स्थानीय तहको निर्वाचनमा हालै नयाँ शक्ति र माओवादीले आफ्नो भाग्य परिक्षण गरिसकेका थिए । यदि एमालेसंग तालमेल गर्न नसकिएको अवस्थामा साच्चै नै गुगलमा सर्च गर्नु पर्ने अवस्था सृजना होला कि भन्ने मनोविज्ञानले बिछिप्त मनलाई सम्हाल्न बालकोट पुगी सान्त्वना/ढाढस पाएका थिए ।

विश्व शक्ति केन्द्रमा अत्यन्तै उदयीमान उत्तरी सिमानाका भिमकाय शक्तिले कम्युनिज्महरुलाई गोलबद्ध गराउन खेलेको भुमिकाले त्रसित अर्को उदयीमान दक्षिणले “यो आफ्ना विरुद्ध हो” भन्ने सन्त्रास लिई एक ठूला कांगे्रेस आइका नेताले भारतीय संचार माध्यम आजतकको एक अन्तरवार्तामा यो सबै चीनको ग्राण्ड डिजाइनमा भएको बताएका हुन् भने एमाले, माओवादी र नयाँ शक्तिले वामपन्थी गठबन्धन गर्दै आसन्न निर्वाचनमा दमदार उपस्थिती देखाउन सक्ने भयले सोलाई “काउण्टर” दिन नेपाली कांग्रेसले प्रजातान्त्रिक गठबन्धन निर्माण गर्ने निर्णय गरी सो को लागि राप्रपा, राप्रपा प्रजातान्त्रिक, फोरम प्रजातान्त्रिक र संघीय समाजवादी फोरमलाई समेटेर अगाडि बढ्ने भएका हुन् । आसन्न निर्वाचनमा तालमेलका लागि उनिहरुले टास्क फोर्स समेत बनाईसकेका छन् र जसरी भए पनि वाम गठबन्धनलाई पेनाल्टी गर्ने रणनीतिमा लागेका छन् । र नवनिर्मित वाम गठबन्धनलाई अप्राकृतिक र अपरच्र्युनिज्मको पराकाष्ठा मानेका छन् ।

सरकारमा पनि बस्ने अनि सरकारका विरुद्धमा पनि गठबन्धन गर्ने माओवादीको द्वैध चरित्र समयमै बुझ्न नसक्नु आफ्नो सबैभन्दा ठूलो भूल भएको कांगे्रसले निश्कर्ष निकालेको छ र साँपको बच्चालाई दुध खुवाएर हुर्काउदा सो ले ठूलो भएपछि आफैलाई डस्न सक्छ भन्ने भेउ आफुले बेलैमा गर्न नसकेको निचोड निकालेको छ । कांग्रेसका लागि वाम एकता अभियान पार्टी सुदृढिकरण र पुनर्गठनको अवसर समेत बन्न सक्छ । राजनीतिक दलहरु बलियो बन्नु लोकतान्त्रिक शासन व्यवस्थाको लागि सुखद पक्ष हो । कुनै राजनीतिक दलको तालमेल वा दिगो गठबन्धनले संसदमा स्पष्ट बहुमत ल्याउन सक्यो भने सत्ता फेरबदलको गलत अभ्यास हट्न सक्छ साथै बाह्य शक्तिको हस्तक्षेप र चलखेल कम हुन सक्छ । दिगो सरकार निर्माण हुन र राजनीति स्थिर बन्न सक्यो भने पनि राष्ट्रले समृद्धिको यात्रामा छिटो पाइला चाल्न सक्छ ।

त्यसैले बहुमत ल्याउन सक्ने दल वा दिगो गठबन्धनलाई हामी सबैले स्वागत गर्नै पर्ने हुन्छ । उता अर्कातिर मधेशको मसिहा ठान्ने र मधेशीको हक अधिकारको निम्ति मात्र यत्रो संघर्ष गरेको भनेर कुर्लने उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, विजय गच्छदार, राजकिशोर यादव, अनिल शाह, महेन्द्र यादव, हृदयेश त्रिपाठी लगायतका दोगला नेताहरुको चाल पनि देखि सकियो । सोझा सिधा मशेसीको नाम भजाएर सत्ताको अवसर आउन साथ “मधेसीहरुले पाउनु पर्ने अधिकार सबै पाईसके” भनेर सत्तामा विराजमान हुन पुग्छन् अनि भन्नलाई चाही उनीहरु पनि “समयको माग अनि मधेसी जनताको हीतका लागि आफु सरकारमा गएको वक्तव्यबाजी गर्दछन् । एकजना राजनैतिक विश्लेषकले भनेका थिए– “मधेसीहरु पकौडामा बिक्छन् भने सत्ताको कुर्सी पाए भने उनीहरु सबै कुरा भुली सरकारमा सहभागी हुन्छन् ।” ।

हुन पनि अहिले त्यस्तै देखिदै छन् । यहाँ अनर्थ नलागोस् मधेसीहरुका नाममा जति अराजकता र उत्पिडिन भएको छ त्यो केवल मधेसका ठूला भनाउदा शासक वर्गबाट नै भईरहेका छन् । सर्लाही जिल्लामा मधेसी सि.डि.ओ. आउन लाग्दा सबै मधेसीहरु दुखित भएका थिए किनकी मधेसीहरुलाई बुझ्न नसक्ने प्रशासक केवल मधेसी नै हो । देश र जनताले राजनीतिक छलाङ नमारे पनि नेताहरुले अनुकरणीय छलाङ मारेर साम्यवादी पगरी रद्धीको टोकरी भित्र मिल्क्याएर बिलासी जीवनशैली बिताईरहेका छन् । सरकार ढाल्ने र ठड्याउने “म्युजिकल चेयर” को नेपाली राजनीतिमा घृणित संस्कृती भित्रिएको छ । नव धनाढ्य बाहेक अरुले उठ्नै नसक्ने चुनावी रणनीति लागु गरेर जनप्रेमी, समाजसेवी, त्यागी र विकास चाहने जनवादी नेता र कार्यकर्तालाई पाखा लगाएर खरिद बिक्रीको चुनावी रणनीति बजारमा ल्याए । संघीय लोकतान्त्रिक गणतन्त्रको मिठास संविधानको मुखपृष्ठमा राखे भित्री पाना आफु अनुकुल हुनेगरी बनाउन सफ्mल भए । हाम्रो राजनीति मुसा–विरालोको खेल बाहेक अरु हुन सकेन ।

स्वभावैले चीनले आफु अनुकुल छिमेकी चाहन्छ भने भारतले पनि आफ्नो निहित स्वार्थ सिद्ध गर्न आफ्नो आज्ञाकारी “छोटे भाइर्” चाहन्छ । साना साना निर्णयहरु गर्न समेत छिमेकीले के भन्लान् भन्ने मनोविज्ञानले त्रस्त नेपाली राजनीति मनले आफुमा कन्फिडेन्स बढाउन सकेन भने हामी आफ्नै घरमा पराजय हुन पुग्छौ । हाम्रो मुलुकले छिमेकीको साहारा लिनै पर्दछ तर यसको अर्थ यो होइन कि हाम्रो हरेक गतिविधी र कृयाकलापहरु छिमेकीहरुबाटै संचालन होउन् । उत्तरी र दक्षिणी भिमकाय शक्तिहरुको आपसमा राम्रो सम्बन्ध छैन । उनीहरुले आफ्ना प्रभाव छाड्न नेपाल लगायतका मुलुकमा आफ्ना प्रभाव जमाउनका लागि र हालै केही मत्थर भएको विवादास्पद डोक्लामको सामरिक विवाद, गोर्खाल्याण्डको आन्दोलन र नेपालीभाषीको चिनिया पक्षलाई गरेको मौन समर्थन एवं वामहरुको तालमेल पछि हुने भनिएको धु्रविकरणले भारतलाई आफु प्रतिकुल नतिजा आउने भयले नेपाली कांग्रेसलाई पनि गठबन्धन गरी चुनावमा भाग लिन र त्यसबाट सम्मानजनक नतिजा ल्याउन सुभेच्छा दिएको छ भने भारत भन्दा बढी हितैषी दर्शाउन चीनको नेपालमा बढ्दो उपस्थिति र अनावश्यक गोप्य चालरुपी वायू मडारिरहेको वर्तमान नेपाली आकाशमा कुन दिन यसले घनघोर वर्षा गराई सारा परिवेश जलमग्न बनाई जनजीवन आक्रान्त बनाउने हो सो को भेउ समय मै पाउन सकेनौ भने हामी युगौयुग परनिर्भर नै रहिरहने छौं ।

देशको विकास निर्माणले यथोचित गति लिन नसक्नुमा महंगी, कालाबजारी, भ्रष्टाचार र कमिशनतन्त्रले दरो जरा गाढेको हुनाले नै यसको दोषी तिनै राजनीतिक नेतृत्वको अदुरदर्शी नीतिले भएको हो । राजनीतिक अस्थिरता, अविश्वास र खुरापाती कार्यशैलीले गर्दा मुलुकलाई छिमेकीहरुको बक्रदृष्टिको दलदलमा फसाउने काम गणतन्त्रको प्रारम्भिक कालमै देख्दा मुक्तिको झिनो आशा गरेका जनतामाथी अर्को राजनीतिक अन्यायको फोहोरी खेल दुबै दिशाबाट खेलाईरहेका छन् । यसमा हामी सबै सचेत भई राष्ट्रिय मुद्दामा एक ढिक्का भई राष्ट्रिय स्वार्थमा अडिन सकेनौ भने पछि हामी नै प्रताडित हुन पर्नेछ र त्यसबेला पछुताउनु भनेको केवल “न्याउरी मारी पछुतो” शिवाय अरु नहुन सक्छ ।

(लेखक कुनैपनि राजनैतिक दल निकट छैनन्)

२०७४ असोज २० गते प्रकाशित

About The Author