
३१ भदौ धादिङ –
नेपाल उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटका लागि छनौट भएको छ । नेपाल एसिया कप क्रिकेट (पूर्वी क्षेत्र) छनौट प्रतियोगिताको फाइनलमा पनि प्रवेश गरेको छ । मलेसियासँग शनिबार भएको सेमिफाइनलमा १० विकेटको शानदार जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
घरेलु टोली मलेसियाले प्रस्तुत गरेको एक सय २२ रनको लक्ष्य नेपालले २३ ओभर एक बलमा बिना विकेटको क्षतिमा भेट्टाएको हो । ओपनरहरु सन्दिप सुनार र आशिफ शेखले अर्धशतक बनाउँदै नेपाललाई सहज जित दिलाए । उनीहरुको उत्कृष्ट प्रदर्शनमा नेपालले २३ ओभर १ बलमा १ सय २५ रन बनाउन कुनै विकेट गुमाउनु परेन । सन्दिपले ७७ बलमा ८ चौका हाने भने आशिफले ६५ बलमा ८ चौका र एक छक्का सहित अर्ध शतक पूरा गरे ।
नेपालले उपाधिका लागि सिंगापुर र हङ्गकङ्गमध्ये एक टिमसँग खेल्नेछ । दोश्रो सेमिफाइनलमा यी दुई टीम पनि अहिले खेलिरहेका छन् । पराजित भएपनि आयोजकका रुपमा मलेशिया एसिया कप खेल्न पाउनेछ ।
२०७४ भदौ ३१ गते प्रकाशित