सृजना लम्साल / २३ भदौ, धादिङ–
३८ औ राष्ट्रिय शिक्षा दिवस औपचारीकतामा सिमित भएको छ । न कुनै अन्तक्र्रिया न चेतनामुलक गतिविधि । एउटा सभाहलमा नाचगान र भाषणमै सिमित गराइएको छ ।
विगत वर्षमा जस्तै यो वर्ष पनि कोठाभित्र भाषण र गोष्ठीमा सिमीत गरी शिक्षा दिवस मनाईएको हो । गुणस्तरीय शिक्षाकै नारा अघि सारेर स्थानिय तहमा निर्वाचित भएका जनप्रतिनिधीले समेत कुनै गतिविधि गरेन ।
जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा पनि विद्यार्थीलाई नै बोलाएर हल भरिभराउ बनाइयो । स्थानीय निकायका जनप्रतिनिधी नै उपस्तित भएनन् । स्थानीय तहमा पनि कुनै कार्यक्रम गरेनन् ।
पुरानै शैलीमा परम्परा धान्दै हलभित्र नृत्य र गायनमा मात्रै कार्यक्रम सिमित रह्यो । कार्यक्रममा गाँउका विद्यालयबाट शिक्षक तथा विद्यार्थीको सहभागिता थिएन । शिक्षा क्षेत्रका बिज्ञको कार्यक्रममा उपस्थिति देखिएन ।
कार्यक्रममा दर्शक भन्दा पनि मञ्च भरीभराउ थियो । कार्यक्रममा जिल्ला शिक्षा समितिका अध्यक्ष जगन्नाथ नेपाल, धादिङका क्षेत्र नम्बर २ का सांसद् गुरुप्रसाद बुर्लाकोटी, नेपाली काङग्रेस धादिङका सभापति रमेश धमला, नेकपा एमालेका उपसचिव शम्भु थापा, नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य पुष्पविक्रम मल्ल, नयाँशक्ति नेपालकी कल्पना धमलालगायतले भाषण गरेका थिए ।
२०७४ भदौ २३ गते प्रकाशित