सरिता श्रेष्ठ / १० भदौ, धादिङ –
विद्यार्थीहरु विद्यालयमा आउँछन् । बेन्चमा बस्न नपाउँदै भुईमा ढलिहाल्छन् । भुईमा ढलेपछि चिच्चाउने, कराउने, घाँटीमा न्याक्ने, हाँस्ने, काप्ने जस्ता फरक फरक लक्षण देखाउँछन् । भुइँमा ढलेर बर्बराउदै बचाउबचाउ समेत भन्छन् । यो धादिङको सिद्धलेक गाउँपालिका वडा नं ४ स्थित आरुवासमा रहेको कालीदेवी माविका विद्यार्थीहरुमा देखिएको अनौठो रोग हो । यस्तो समस्या पहिलो पटक देखिएको होइन । अघिल्लो वर्ष पनि दुई जना विद्यार्थीमा यस्तै लक्षण देखिएको थियो तर त्यो मासमा फैलन पाएन । यसपटक अहिलेसम्म ३५ जनामा यस्तो लक्षण देखिसकेको छ ।
दैनिक करिव १५/ १६ जना विद्यार्थी कक्षा कोठामा पढ्दै गर्दा बेहोस हुने गरेको छ । कहिले लाइन लागेकै समयमा ढल्ने त कहिले बेन्चमा बसिरहेका बेला ढल्ने गरेको विद्यालयका प्रधानाध्यापक झकबहादुर मगरले जानकारी दिए । उनले भने – विद्यार्थी बेहोस भएर ढल्ने कारण पहिल्याउन अहिलेसम्म सकिएको छैन, ‘स्कुलबाट निस्केर गेट बाहिर जादाँ विद्यार्थीलाई निको भइहाल्छ,’ स्कुल भित्र हुदाँ बेहोस भइहाल्छन् । कक्षामा शिक्षकले पढाइरहेको बेलामा बेहोस भएर ढल्ने गरेका छन् । यसले पढाई समेत प्रभावित भएको शिक्षकहरुको भनाई छ ।
जेठको पहिलो सातादेखि विद्यार्थीहरुमा यस्तो लक्षण देखेपछि विद्यार्थीहरुलाई जँचाउनका स्वास्थ्य संस्था पनि लगिएको थियो । धामी झाँक्री पनि लगाए तर बिसोक भएन । अन्तिमतिर विद्यालय नै बन्द गरियोे । साउनको अन्तिम सातातिर विद्यालय संचालनपछि पनि पुनः उहि समस्या देखा पर्न थाल्यो । २ जना, ३ जना हुँदै अहिले ३५ जना छात्राहरुमा यस्तो लक्षण देखा परेको छ । विद्यालयमा यस्तो प्रकारको अनौठो रोग देखा परेपछि विद्यार्थीहरु विद्यालय नै आउन छाडेका छन् । पढाई पनि राम्रोसँग संचालन हुन सकेको छैन । खासगरी कक्षा ३ देखि ९ सम्मका छात्राहरुमा यस्तो लक्षण देखिएको छ । विद्यार्थी बेहोस भएपछि उनीहरुका अभिभावकले स्वास्थ्य संस्थामा जाँच गराउन लगेका थिए तर जाँच गराउँदा शरीरमा कुनै रोग नभएको चिकित्सकहरुले जानकारी दिएका छन् ।
यस्तो लक्षण पटक पटक देखिएपछि उपचारका लागि पहल गरिएको थियो तर कुनै परिवर्तन नभएपछि मनोपरामर्श पनि दिइएको छ । यो तनावका कारण हुने भएकाले औषधी उपचारबाट समस्या समाधान नहुने मनोपरामर्शदाताहरुको भनाई छ । विद्यालयमा अनौठो प्रकारको लक्षण देखा परेपछि आईसीडिसी धादिङले विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई मनोपरामर्श पनि दिएका थिए । मनोपरामर्शदाता राजन ढुवाडी भन्छन् – “मास हिस्टेरियाको रुपमा देखिएकाले यस्ता समस्याको समाधान औषधी उपचार नभई शान्त वातावरण तथा सरसफाईमा ध्यान दिनु हो ।” पारिवारिक समस्या, उमेर अनुसार शारीरिक वृद्धिविकास बढेका कारण पनि यस्तो लक्षण देखा पर्ने गरेको दुवाडीले बताए ।
भूकम्पपछि विद्यालयको भवन चर्काएको थियो । त्यहि भवनमा विद्यालय संचालन हुँदै आइरहेको छ । विद्यालयको भौतिक संरचना अहिले निकै जीर्ण छ । विद्यालयको छेवमै मन्दिर समेत छ । मन्दिरसँगै शौचालय पनि छ । मन्दिरको सरसफाई नगरेको र देउता पूजा समेत नगर्ने भएकाले भएकाले देउता लागेको हो कि भनेर आशंका गरेका छन् ।
विद्यार्थीमा अनौठो प्रकारको लक्षण देखा परेपछि अभिभावकहरु पनि निकै दुखी बनेका छन् । अभिभावकहरुले देउताकै कारण विरामी भएको हुन सक्ने आशंका गरेको छ । उनीहरुले असोज महिनाको पहिलो सातातिर पूजा लगाउने तयारी गरिरहेका छन् । अघिल्लो वर्ष यसै गाउँपालिकोको पीपलटारमा रहेको महाकाली माविका विद्यार्थीह यस्तो लक्षण देखिएको थियो ।
२०७४ भदौ १० गते प्रकाशित