
७ भदौ धादिङ –
यु १५ साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । एन्फा कम्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको छ । जितसँगै भारत समूह ‘बि’ को विजेता बनेको छ ।
खेलमा २७ औँ मिनेटमा गोल गर्दै बिक्रम प्रताप सिंहले नेपाललाई अग्रता दिलाएका थिए । ४० औँ मिनेटमा पाएको पेनाल्टीमार्फत भारतका रोशनले बराबरी गोल फर्काए । खेलको ६४ औँ मिनेटमा रवि बहादुर रानाले गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाए । त्यसपछि दुवै टिमबाट पाएका अवसर सदुपयोग हुन सकेन र भारत २–१ ले विजयी भयो ।
गएको सोमबार नेपालले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । यस्तै भारतले माल्दिभ्सलाई ९–० गोल अन्तरले हराएको थियो । जसकारण गोल अन्तरका आधारमा भारतले बुधबार नेपालसँग बराबरी गरे मात्र पनि समूह विजेता बन्थ्यो । समूह ‘बि’ मा भारत, माल्दिभ्स र नेपाल छन् । माल्दिभ्स समूह चरणबाटै बाहिरिएको छ ।
दक्षिण एसियाली फुटबल संघ साफको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको प्रतियोगितामा समूह ‘ए’ मा बंगलादेश, श्रीलंका र भुटान छन् । प्रतियोगितामा पाकिस्तानले भने सहभागिता जनाएको छैन । गएको वर्ष पहिलो संस्करण यु–१६ च्याम्पियनसिप भएपछि एएफसीले यस पटकदेखि यु–१५ च्याम्पियनसिपको आयोजना गरेको हो ।
२०७४ भदौ ७ गते प्रकाशित