
७ भदौ, नयाँ दिल्ली –
उत्तर भारतीय राज्य उत्तर प्रदेशमा बुधबार भएको एक यात्रुबाहक रेल दुर्घटनामा ७४ व्यक्ति घाइते भएका छन ।
बुधबार बिहान सबेरै भएको यस दुर्घटना रेलमा रहेका १० वटा डिब्बा पटरीबाट अलगिएको अधिकारीहरुले जानकारी दिएका छन । उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट १८० किलोमिटर टाढा रहेको औरैया जिल्लामा सो दुर्घटना भएको जनाइएको छ । यस दुर्घटनामा ७४ व्यक्ति घाइते भएका र ती सबैलाई नजिकैको अस्पतालमा भर्ना गरिएको वरिष्ठ स्थानीय सरकारी अधिकारी अरभिन्द कुमारले सञ्चार माध्यमलाई बताए ।
भारतीय रेल मन्त्री सुरेश प्रभुले यस दुर्घटनालाई आफूले व्यक्तिगत रुपमा नै निरीक्षण गरिरहेको जानकारी दिए । भारतको उत्तर प्रदेशका मुजाफ्फारनगर जिल्लामा गत आइतबार मात्र भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु हुनुको साथै अन्य १५० भन्दा जना घाइते भएका थिए ।
यस घटनाको तीन दिन पछाडी पुनः उत्तर प्रदेशमा नै रेल दुर्घटना भएको छ । रेलको पटरीबाट १४ डिब्बा बाहिर गएपछि रेल दुर्घटना भएको थियो ।
२०७४ भदौ ७ गते प्रकाशित