
लक्की चौधरी –
नेपाल पत्रकार महासंघ नेपाली पत्रकारको छाता संगठन हो । नेपाली प्रेस जगतको भलाई र प्रवद्र्धनकालागि स्थापनाकालदेखि प्रयासरत छ । नेपाली प्रेसको हकहित र संरक्षणमा मात्र होइन, त्यसको जिम्मेवारी र देश र नागरिककालागि खेल्नुपर्ने भूमिका र दायित्वका बारेमासमेत भूमिका निर्वाह गर्दैआएको छ । शासनसत्तामा विराजमानहरुलाई देश र नागरिकको भलाईप्रति सजग गराउने, पहरेदारी गर्ने र नेतृत्वदायी राय सुझाव दिने काम पनि गर्दैआएको छ । त्यसैले पनि महासंघप्रति शासक एवं आमनागरिकको बुझाई र हेराई महत्वपूर्ण छ ।
वि.सं. २००८ देखि अहिलेसम्म महासंघमा २२ जनाले नेतृत्व गरिसकेका छन् । अब २३ औं नेतृत्वकालागि आगामी भाद्र ४ र ५ गते २५ औं महाधिवेशन हुँदैछ । यस अवधिमा महासंले लिएका निर्णय कति कार्यान्वयन भए, कति भएनन् समिक्षाको विषय हुनसक्ला । यद्यपि अधिकांश निर्णयहरु कार्यान्वयनमा रहेको नेतृत्वको दावी देखिन्छ । संविधानमा पूर्ण प्रेस स्वतन्त्रता कायम भएको छ ।
श्रमजीवी पत्रकार ऐन झिनोरुपमा भएपनि कार्यान्वयनमा छ । पत्रकारको गुणात्मक नभएपनि संख्यात्मक बृद्धि भएको छ । पत्रकारको दक्षता अभिबृद्धिकानिम्ति अभियानहरु सञ्चालनमा छन् । पत्रकार शुद्धिकरणको अभियान आशालाग्दोरुपले अगाडि बढ्न नसकेपनि वहसमा छ । प्रेस ऐन र नयाँ नीतिहरु निर्माण भएका छन् । पत्रकार महासंघ एउटा नेतृत्वदायी नागरिक संगठनकोरुपमा स्थापित भएको छ । पत्रकारको हकहितकानिम्ति सामुहिक आवाज उठ्ने वातावरण बनेको छ । २०७१ वैशाख २० र २१ गते काठमाडौंमा सम्पन्न २४ औं महाधिवेशनबाट डा. महेन्द्र विष्ट नेतृत्वको कार्यसमिति निर्वाचित भएको थियो ।
देखिएको उपलब्धीः
तीनवर्षे कार्यकालमा महासंघले शुरुवातीचरणमा उठाएका एजेण्डा धेरै हदसम्म कार्यान्वयन भई उपलब्धी प्राप्त गरेको छ । यसअघिको कार्य समितिले शुरुगरेका तर पूरा नभएका कामको सम्पन्नता र चुनावमा प्रतिवद्धता गरेका कतिपय काम सम्पन्न भएका छन् । केही सम्पन्न हुनेचरणमा छन् । पत्रकारको हकहित र स्वतन्त्रताका लागि तत्काल गर्न सकिने काम सम्पन्न भएका छन् । अल्पकालिन कामहरु धेरै हदसम्म सम्पन्न भएका छन् भने दीर्घकालिन उद्देश्यका कामहरु कार्यान्वयनका चरणमा छन् । यसर्थ यस अवधिमा महासंघले उद्देश्यअनुरुप धेरै काम सम्पन्न गरी उपलब्धी प्राप्त गरेको मान्न सकिन्छ ।
वि.सं २०५१ सालमा लागू भएको श्रमजीवी पत्रकार ऐनको आंशीकरुपमा भएपनि यसअवधिमा कार्यान्वयन भई उपलब्धी हात पारेको छ । सरकारी सञ्चारमाध्यममा भएपनि पत्रकारले न्यूनतम पारिश्रमिक प्राप्त गरेका छन् । पत्रकारको साविक न्यूनतम पारिश्रमिकलाई शतप्रतिशत बृद्धिगरी कार्यान्वयनको चरणमा छ । महासंघले यस अवधिमा त्यसको कार्यान्वयनकालागि सरोकारवाला सबै पक्षसँग संवाद र दवावको कार्यक्रममार्फत् उपलब्धी प्राप्त गरेको छ । महासंघ केन्द्रीय समितिले बनाएको समितिमार्फत्, महासंघको जिल्ला शाखामार्फत् र न्यूनतम पारिश्रमिक निर्धारण समितिसँको समन्वय र सहकार्यमा देशव्यापी अनुगमनको काम सम्पन्न भई पत्रकारको अवस्थाबारे बुझ्ने र कार्यान्वयनमा दवावको काम भएको छ । विना नियुक्तीपत्र काम गराउने सञ्चारमाध्यमलाई सचेत गराउने, नियुक्तीपत्र प्राप्त गरेका तर आठ नौ महिनासम्म तलब नपाएका पत्रकारकालागि महासंघको नेतृत्वमा धर्ना, आन्दोलन र मिडिया मालिकसँगको सम्वादमा तलब भुक्तानी दिलाउने काम भएको छ । नियुक्ती नपाएकाहरुलाई नियुक्तीपत्र दिलाउने काम गरेको छ ।
२०७२ मंसिरदेखि प्रतिव्यक्ति पाँचलाख रुपियाँको पत्रकार दुर्घटना बिमा कार्यान्वयनमा आएको छ । थप अभियान जारी छ । ज्येष्ठ पत्रकार सम्मान बृत्तिको शुरुवात र निरन्तरता पाएको छ । जसबाट धेरै ज्येष्ठ पत्रकार लाभान्वित भएका छन् । दुर्घटनामा परेका र विरामी भएका १०५ जना पत्रकारलाई यस अवधिमा महासंघले उपचार सहयोग प्रदान गरेको छ । पत्रकार कल्याण कोषलाई बृद्धि गरी एक करोड पु¥याउने काम भएको छ । प्राकृतिक विपत्तिकाबेला पत्रकारको उद्धार र राहतकालागि २५ लाख रुपियाँको नयाँ अक्षयकोष स्थापना गरिएको छ । महासंघको विधानलाई थप समावेशी बनाइएको छ । पत्रकारको मनोबल बृद्धिगर्न र प्रोत्साहन गर्न महासंघकोतर्फबाट ५० बढी पत्रकारलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गरिएका छन् । लोक कल्याणकारिणी विज्ञापनको बृद्धि रकम महासंघकै अगुवाईमा उपलब्ध गराउने काम भएको छ । समानुपातिक विज्ञापन प्रणाली लागूगर्न आवश्यक पहल भएको छ । पत्रकारको दक्षता अभिबृद्धिकालागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना अन्तिमचरणमा छ । सोकालागि सरकार र सरोकारवाला पक्षसँग महासंघले निरन्तर संवाद र छलफल गरी स्थापनाको दवाव सिर्जना गरेको छ ।
मिडियामा समावेशीकरण र लैङ्गिक समानताको विकासकालागि महासंघले प्रयास गरेको छ । केही उपलब्धी प्राप्त भएका छन् । महिला सशक्तिकरणका थुप्रै तालिम, गोष्ठी र अन्तरक्रिया सम्पन्न भएका छन् । नेपालमा महिला पत्रकारको अवस्थाबारेको अध्ययन गरी प्रतिवेदन तयार भएको छ । भूकम्पबाट समस्यामा परेका पीडित पत्रकार र तिनका परिवारलाई तत्कालिन समस्या समाधानकालागि महासंघकोतर्फबाट त्रिपाल, मोबाइल चार्जर, व्याकअप, खाद्यान्न सामग्री र केही नगद सहयोग प्रदान गरिएको थियो । महासंघको केन्द्रीय कार्यालयमा विभिन्न जिल्लाबाट आउने पत्रकारकालागि थोरै भएपनि निःशुल्क आवासको व्यवस्था गरिएको छ । पत्रकार आचारसंहिताको प्रेस काउन्सिल नेपालसँगको सहकार्यमा पुनरावलोकन गरी अनलाईन मिडियालाई समेत त्यसमा समेटिएको छ । आचारसंहिता कार्यान्वयनमा दवाव सिर्जना गरिएको छ ।
समस्या र चुनौतिः
पत्रकारको व्यावसायिक र पेशागत सुरक्षा गर्नु सबैभन्दा चुनौतिको विषय हो । यस अवधिमा महासंघले यसकानिम्ति निरन्तर पहलकदमी लियो । काम लगाएर पारिश्रमिक नदिनु, समाचार लेखेबापत धम्की र आक्रमण खेप्नु, न्यूनतम पारिश्रमिक प्राप्त नगर्नु, पाए धेरै ढिला प्राप्त गर्नु, विविधकारणले पत्रकार सेल्फ सेन्सरसिपमा पर्नु, दण्डहिनता मौलाएकाकारण पत्रकारले स्वतन्त्रतापूर्वक लेख्न नसक्नु यावत चुनौति देखिएका छन् । जसकाकारण पत्रकारलाई पेशामै टिकाइराख्नु समस्या थपिदै गएको छ । पत्रकारिता गरेरै बाँच्नेआधार सुखद् हुननसक्दा पत्रकार पेशाबाटै पलायन भएका कैयौं उदाहरण हामीसामु छन् । पत्रकारिता पेशालाई पारदर्शी बनाउन नसक्नु, सुशासनकानिम्ति वातावरण बन्न नसक्नु र पत्रकारको उचित सुरक्षा व्यवस्था गर्न नसक्नु अर्को चुनौतिको विषय हो । यसअवधिमा जानेर वा नजानेर पत्रकारमाथि विभिन्नकारणले आक्रमण भएका छन् । हेर्नुहोस् तलको तालिका ।
तालिका नं. १
प्रदेश अनुसार आक्रमणको घटना
क्र.सं. प्रदेश घटना
१ प्रदेश नं १ १८
२. प्रदेश नं. २ ५०
३ प्रदेश नं. ३ २७
४ प्रदेश नं. ४ ५
५ प्रदेश नं ५ २३
६ प्रदेश नं. ६ ५
७ प्रदेश नं. ७ ११
जम्मा १३९
स्रोतः नेपाल पत्रकार महासंघको प्रतिवेदन
साना लगानीका मिडियाको संरक्षण र तिनको समुचित विकास गर्नु अहिलेको अर्को चुनौति हो । सरकारी विज्ञापनहरु केन्द्रीकृत रहनु, समानुपातिकरुपमा लोककल्याणकारी विज्ञापन वितरण हुन नसक्नु, जिल्लाका सरकारी विज्ञापन पनि केन्द्रमा आउनु र स्थानीय मिडियाको आर्थिकस्रोत कमजोर रहनुले मिडिया टिकाइराख्न चुनौति थपिदै गएको छ । लोकतन्त्र स्थापना यताको एक दशक अवधिमा ११ जना पत्रकार मारिएका छन् । दुईजना बेपत्ता पारिएका छन् । एकहजार ६९९ वटा प्रेस स्वतन्त्रता हननका गम्भीर घटना भएका छन् । अर्को चुनौतिको विषय हाम्रैभित्र छ । पत्रकार महासंघको सदस्यता वितरण पेचिलो हुँदैगएको छ । एकातिर शुद्धिकरणको चुनौति छ अर्कोतर्फ पत्रकारलाई सदस्यता वितरणको । दलीय दाउपेच र पहुँचका आधारमा सदस्यता लिनेहरु धेरै छन् । यसको व्यवस्थापन गर्न नसक्नु हाम्रै कमजोरी हो । चुनाव जित्नेदाउमा जानीजानी गैरपत्रकारलाई सदस्यता वितरण गर्ने काम उहिलेदेखिको कमजोरी हो । यसमा सुधारको खाँचो छ ।
प्रेस जगतलाई जिम्मेवार प्रतिपक्षीकोरुपमा आमरुपले हेर्ने र बुझ्ने गरिन्छ । तर नेपाली प्रेसले के त्यस्तो रचनात्मक भूमिका खेलेको छ ? अर्थात् हामी पक्षीय पत्रकारिता त गर्दैछैनौं ? पत्रकारिता स्वतन्त्र, निश्पक्ष, सन्तुलित र जिम्मेवार नबन्दासम्म घरिघरि समस्या र चुनौति त आइनैरहने छन् । नेपाली पत्रकारिता आवाजविहिनको आवाज हुनुभन्दा ‘आवाज भएकाहरुको आवाज’ बन्यो भन्ने आलोचना हुनेगर्छ । सिद्धान्ततः स्वतन्त्र र सन्तुलित प्रेसको वकालत गर्ने हामी पत्रकार आफै कुनै न कुनै दलको पछि र नेताको फेरो समातेर हिड्ने प्रबृत्ति बनाएका हौं कि ? आत्म समिक्षा गरौं ।
(लेखकः पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् ।)
२०७४ साउन २९ गते प्रकाशित