Thu. Mar 6th, 2025

धादिङमा अनुगमनको बहानामा कर्मचारीको रात्रिभोज

३० असार,  धादिङ –

अनुगमनका बहानामा धादिङका सरकारी कर्मचारी रात्रिभोज गर्न चितवन पुगेका छन् । वर्षदिनभरी भएका कार्यक्रमहरुको अनुगमनका लागि धादिङको धुनीबेसी नगरपालिका स्थित धाक्रेमा पुगेका सरकारी अनुगमन टोली साँझ ७ बजे चितवनको सिदार्थ होटलमा पुगेका थिए । दुई दिनको अनुगमन भनिएतापनि बुधबार दिउँसो १२ बजे धादिङबेसीबाट कार्यलय नै छोडेर धाक्रेमा सहभागी भई रात्रीभोज गरी विहिबार बिहान मात्र फर्केका थिए ।

रात्रिभोजमा सहभागी हुन कार्यलय प्रमुखहरुले लिएर गएका गाडी होटलको पार्किङस्थलमा ।

 

आर्थिक वर्षका अन्त्यमा पुर्वनिर्धारित कार्यक्रममा गर्नै पर्ने भएकाले हतार हतारमा ३ वटा कार्यलयहरुको संयुक्त अनुगमन गरिएको ती कार्यलयले जनाएका छन् । फरक फरक कार्यलयको फरक फरक कार्यक्रम अनुगमन गर्नुपर्ने भएपनि महिला तथा बालबालिका कार्यलयको लैङिगक बालअधिकार मुलप्रवाहीकरण जिल्ला समन्वय समितिको संयुक्त अनुगमन, जिल्ला कृषि विकास कार्यलय र जिल्ला पशुसेवा कार्यलय धादिङले बर्ष भरि संचालन गरेका योजनाहरुको अनुगमन कार्यक्रम एकै समयमा गरिएको हो ।

तिनवटा फरक फरक कार्यलयको अनुगमन भएपनि तिनवटै कार्यलयको एउटै बजेट बनाएर संयुक्त अनुगमन पश्चात रात्रीभोजको लागि अनुगमनका सहभागीहरु चितवन पुगेका हुन् । दिउँसोको कार्यक्रममा उपस्थित नभएपनि रात्रीभोज कार्यक्रममा धादिङको प्राय सबै सरकारी कार्यलयका प्रमुखहरुको उपस्थिति देखिएको थियो ।

धादिङमा रात्रीभोज गर्न व्यवस्थित ठाउँ नभएका कारण चितवनको कुरिनटारमा पुगेको टोलीका संयोजक कोष तथा लेखा नियन्त्रक कार्यलय धादिङको कोष नियन्त्रक यज्ञ ढकालले बताए । उनले भने –‘अनुगमनमा जानेहरुलाई भत्ताको व्यवस्था गरिएको थियो, भत्ताबापतको रकमले रात्तीभोजको आयोजना गरेका हौँ । ’

अनुगमनका लागि जिल्ला कृषि विकास कार्यलयको ५० हजार, पशुसेवा कार्यलयको ५० हजार र महिला तथा बालबालिका कार्यलयको ६० हजार बजेट रहेको थियो । कार्यक्रममा सहभागी हुनेहरुको सङ्ख्या हेर्दा भने त्यति रकमले रात्रीभोज ब्यवस्थापन गर्न असम्भव थियो ।

अनुगमनका नाममा नलाङको गाइ फार्म र केवलपुरको बाख्रा फार्म हेरिएको थियो । समय नभएको भन्दै कार्यलयले संचालन गरेका सबै योजना हेर्न नभ्याएको जिल्ला पशुुसेवा कार्यलय धादिङका कार्यलय प्रमुख देवेन्द्र भगतले बताए । महिला तथा बालबालिका कार्यलयले पनि लैङिगक बालबालिका मुद प्रवाहिकरण र कृषि विकास कार्यलयले पनि गजुरीमा रहेको सहकारी संस्थासँग भेटघाट गरी अनुगमनको औपचारिकता पूरा गरेका थिए । हतार हतारमा गरिएको अनुगमनका कारण सवै संचालित योजनाहरुको अनुगमन गर्न नभ्याइएको अनुगमन टोलीमै सहभागीहरुले बताएका छन् ।

अनुगमनमा कति खर्च भयो र रात्रीभोजमा कति खर्च भयो यकिन खर्च विवरण सम्बन्धित सरकारी कार्यलयलाई थाहा छैन । उनीहरुले रात्रीभोज गरेको होटलको रेट प्रतिब्यक्ति कर बाहेक ४ हजार भन्दामाथि छ । कार्यक्रममा सहभागी हुन सवै सरकारी कार्यलयका प्रमुखहरुले कार्यलयकै गाडी लगेपनि चालकहरुलाइ भने रात्रीभोजमा सहभागी नगराइ बाहिरै खाना खान पठाएका थिए । अनुगमन टोलीले रिर्जभ गरेका बाहेक सेता प्लेटका सरकारी गाडी मात्रै १ दर्जनको हाराहारीमा होटलमा पार्किङ गरिएका थिए । अनुगमनमा भने जिल्लाका कुनै पनि पत्रकार तथा संचारगृहलाई आमन्त्रण गरिएको थिएन ।

२०७४ असार ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: