Thu. Mar 6th, 2025

कास्कीको रुपा गाउँपालिकाको बजेट २७ करोड


२८ असार, पोखरा – 

 

कास्कीको रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७४/ ७५ का लागि २७ करोड ३५ लाख ७६ हजार बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाद्वारा मङ्गलबार आयोजित प्रथम गाउँ सभामा वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका प्रमुख नवराज ओझाले गाउँपालिकाको आर्थिक विकास सामाजिक क्षेत्र, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन लगायतका क्षेत्रमा उक्त बजेट विनियोजन गरिएको बताए ।

गाउँ सभाको उद्घाटन गर्दै व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले अबको राजनीति विकास र समृद्धिका साथै सामाजिक रुपान्तरणका क्षेत्रमा केन्द्रित हुनुपर्ने बताउँदै पूर्वाधार विकाससँगै समग्र विकासका योजना साकार बन्ने बताए ।

प्राकृतिक रुपमा उपलव्ध साधनस्रोतलाई पर्यटन लगायतका विविध पक्षसँग जोड्दै रुपा गाउँपालिकालाई समृद्ध बनाउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज एवम् सरोकारवाला सबैको एकीकृत प्रयास आवश्यक हुनेमा उनले जोड दिए ।

गाउँ सभाले गाउँपालिकाभित्र सडक योजनालाई पाँचवर्षे योजनाका साथ अघि बढाउने व्यावसायिक कृषिको विकास गर्ने, खानेपानी, शिक्षा, स्वास्थ्य, वन वातावरण, जलाधार संरक्षण लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

कार्यक्रममा गाउँपालिकाका उपप्रमुख लालसुब्बा गुरुङ, कार्यकारी अधिकृत भेषराज आचार्य लगायतले गाउँपालिकाका सम्भावनालाई उजागर गर्दै विकासका मार्गमा उन्मुख गराउनुपर्नेमा जोड दिए ।

२०७४ असार २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: