२२ असार धादिङ–
गतवर्ष जिल्ला कृषि विकास कार्यलय धादिङले वितरण गरेको धानको वीउबाट भुस मात्रै फलेर उत्पादन लिन नपाएका किसानहरुलाइ बुधबार राहत स्वरुप नगद नै उपलब्ध गराइएको छ । अनुदानको बिउ रोपेर नफलेपछि पीडित बनेका धान उत्पादक किसानले राहत पाएका हुन् ।
गएको वर्ष रोपाइ गरेपछि धानमा बाला लागेपनि धानको फल (दाना) लाग्ने बेलामा भुस मात्रै फलेपछि जिल्ला कृषि विकास कार्यलय धादिङबाट वीउ लिएका किसानहरु मर्कामा परेका थिए ।
राम्रो जातको बीउ भनेर अनुदान स्वरुप वितरण गरिएको हर्दिनाथ १ जातको धानको बीउ रोपेका किसानहरुले पोहोर साल उत्पादन लिन पाएनन् । उनीहरुले क्षतिपूर्ति माग्दै आएका थिए ।
धानको क्षतिपुर्ति भनेर पुरै नपाएपनि किसानहरुलाइ राहत स्वरुप रोपनीको ३ हजार बराबर क्षतिपूर्ति दिइएको जिल्ला कृषि विकास कार्यलय धादिङका बरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बताए ।
जिल्ला कृषि विकास कार्यलयले नै राम्रो जातको भनेर सिफारिस गरेको धानको बालामा दाना
नलागेपछि धादिङका किसानहरु आन्दालित हुदै क्षेत्रिय कृषि निर्देशनालय हरिहरभवन ललितपुर हुदै कृषि मन्त्रीलाइ नै ज्ञापन पत्र बुझाउन पुगेका थिए । गत वर्ष कृषि कार्यलयबाट अनुदानको वीउ लगेर खेती गर्ने ६४ जना किसानहरुको २ सय ३५ रोपनी जग्गामा गरिएको धानखेतीको क्षतिपुर्ति स्वरुप थोरै भएपनि नगद राहत उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यलय धादिङका सुचना अधिकृत एवं कृषि प्रसार अधिकृत रामचन्द्र गौतमले जानकारी दिए ।
जिल्ला कृषि विकास कार्यालय धादिङले किसानहरुका लागि वितरण गरको हर्दिनाथ—१ जातको धानमा दाना नलागेको प्राविधिकहरुको रिपोर्ट पछि कृषि मन्त्रालयले ८ लाख र क्षेत्रिय कृषि निर्देशनालयले ६० हजार रुपैया किसानहरुको लागि पठाएको थियो । त्यसै रकमबाट किसानलाई राहत दिलाइएको गौतमले जानकारी दिए ।
२०७४ असार २२ गते प्रकाशित