Wed. Nov 27th, 2024

आफ्नो योजना आफै छान्दै धादिङका बालबालिका

१३ असार,  (धुनीबेसी नगरपालिका) धादिङ –

कक्षा ९ मा पढ्दै गरेकी जोत्सना रेग्मी बालबालिकाका योजना छान्न पाउँदा उत्साहित छन् । उनी र उनीजस्ता बालबालिकाको कुराहरु उनी बस्ने नगरपालिकाको योजनामा समेटिने भएपछि उनमा खुशीको सिमा नै छैन । उनी भन्छिन् – हाम्रो विद्यालयमा शौचालयको सुविधा छ तर पानी छैन । छात्र, छात्राको छुट्टाछुट्टै शौचालय भएपनि छात्राहरुलाई महिनाबारी भएको बेलामा एकदमै समस्या हुने गरेको छ । कतिपय त विद्यालय नै आउदैनन् । हाम्रो लागि छुट्याएको बजेटबाट भौतिक संरचना निर्माण हुने गरेको छ । ‘बालबालिका विद्यालयमा नै पढ्ने हुन्, बाटोमा सबै बालबालिका पनि हिड्छन् भन्दै बालबालिका लक्षित बजेट विद्यालय र बाटो निर्माणमा खर्चिदा हाम्रा माग सुनुवाई हुन सकेका थिएनन् ।’

जोत्सना मात्र होइन उनीसँगै पढ्ने सलिना मानन्धर पनि आफ्ना योजना छान्न आतुर छन् । बालबालिकाका लागि भनेर बजेट आउँछन् तर त्यो के मा खर्च हुन्छ हामीलाई थाहा हुन्न । यस पटक त हामी आफै मिलेर योजना बनाएका छौँ, हाम्रा योजना पनि नगरपालिकाले समेटिदिन्छन्  कि ?

युनिसेफको सहयोगमा सिर्जनशील समाज नेपालले धुनीबेसीमा आयोजना गरेको बालभेलामा बालबालिकाहरुले आफ्नो योजना आफै छानेका हुन्् । नगरपालिकाका उपमेयर निरु खरेल उपस्थित कार्यक्रममा घरदेखि विद्यालयसम्म बालबालिकाका समस्या, आवश्यकताका विषयमा उपमेयरलाई बताए । आफ्ना योजना आफैले छान्न पाउदा हामी उत्साहित छौँ । मछिन्द्र बाल क्बलका सोनिका पाठक भन्छिन् –‘गरिब बालबालिकाको लागि शिक्षा र विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराई स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिकाले विशेष व्यवस्था गर्नुपर्छ ।’ बालबालिकाका योजना बालबालिकालाई नै छान्न दिनुपर्छ ।

यस नगरपालिका भित्रमा अधिकांश बालबालिकाहरु इट्टाभट्टामा काम गर्छन् । उनीहरुले न त पढ्न नै पाएका छन् न स्वास्थ्यमा नै ध्यान दिएका छन् । त्यस्ता बालबालिकाहरुलाई श्रममुक्त गराउन नगरपालिकालाई आग्रह समेत गरेका छन् । बालबालिकाहरूले बालमैत्री धारा, बालमैत्री बिद्यालय, सरसफाईका सन्दर्भलाई चित्रांकनमा व्यक्त गरेका थिए । उनीहरुको प्राथमिकतामा सबै बालबालिकाहरु विद्यालयमा हुनुपर्ने, विद्यालयमा सफा शौचालय, बालमैत्री खेलकुद मैदान हुनुपर्ने, सडकमा जेब्रा क्रसिङ हुनुपर्ने उनीहरुले प्राथमिकतामा राखेका छन् ।

विकेन्द्रीकृत शासन, जनउत्तरदायी सेवा र सामुदायिक कार्यप्रक्रिया सुदृढ गराई बालबालिकाको अधिकार सुनिश्चित गराउने योजनालाई विशेष प्राथमिकता दिन बालबालिकाहरुले आग्रह गरेका छन् । बालबालिकाहरूले बालभेलामा स्थानीय तहको सुदर भविष्यको परिकल्पना पनि चित्रमा प्रस्तुत गरेका थिए । स्थानीय तहका सबै बालबालिका बिद्यालय गएको, बालहिंसा नभएको, सुन्दर नगर बालमैत्री भएको अवस्था उनीहरूको परिकल्पनामा व्यक्त गरिएको सीर्जनशिल समाज नेपालका सदस्य सन्दिप न्यौपानेले बताए ।

बालबचाउ, बालसंरक्षण, बालविकास र बालक्लब निर्माणका लागि (साविकको नगरपालिका गाविसले) बजेट छुट्टाउने गरेको छ ।  बालबालिकाको नाममा प्रत्येक वर्ष १० प्रतिशत बजेट त छुट्टिन्छन् तर कार्यन्वयनमा समस्या छ जिल्ला बालकल्याण समिति धादिङका प्रमुख हरी उप्रेतीले बताए । बालबालिका लागि बनेका बजेट कि त विद्यालय निर्माण कि बाटोघाटो निर्माणमा खर्चन्छन् ।

२०७४ असार १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: