एक महिनाको पारिश्रमिक विद्यार्थीलाई दिने गोरखाका अर्जुन ।
२६ जेठ, धादिङ ।
गोरखाका एक युवकले आफ्नो एक महिनाको पारिश्रमिक कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई सहयोग गरेका छन् ।
गोरखाको पालुङटार नगरपालिकाका अर्जुन पोखरेलले आफ्नो वर्षभरीको पारिश्रमिकबाट एक महिनाको कमाईले गाउँकै अन्नपूर्ण उच्च माध्यामिक विद्यायलमा अध्ययनरत विपन्न २७ जनालाई सहयोग गरेका हुन् । पोखरेल अन्नपूर्ण उच्च माविका पूर्व विद्यार्थी हुन् । उनले यस विद्यालयबाट २०६५ सालमा एसएलसी दिएका थिए ।
शुक्रबार विद्यालयमा आयोजित एक कार्याक्रमका बीच पोखरेलका बुबा एमप्रसादको हातबाट विद्यार्थीलाई नगद नै सहयोग उपलब्ध गराइएको हो । विद्यालयको क्षैशिक गुणस्तर सुधार एवम् विद्यार्थीहरुलाई अध्ययनमा उत्प्रेरित गराउने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराइएको पोखरेलले बताए ।
अर्जुन पोखरेलले अहिले काठमाण्डौको अनामनगरमा एड पोइन्ट प्रा.लि. नामक विज्ञापन एजेन्सी संचालन गर्दै आएका छन् । वर्षभरीमा हुने पारिश्रमिकबाट छुट्याएर एक महिनाको पारिश्रमिक २५ हजार रुपैया विद्यार्थीलाई सहयोग गरिएको पनि उनले जानकारी दिए । तीन वर्षदेखि विज्ञापन एजेन्सी संचालन गर्दै आएपनि विद्यार्थीलाई सहयोग गरेको यो पहिलो पटक हो । विद्यालयको शैक्षिक विकास र विद्यार्थीलाई उत्प्रेरणा दिलाउनका लागि अब हरेक वर्ष सहयोग गर्ने उनले बताएका छन् ।
कक्षा १ देखि ५ सम्मका ८ जनालाई ५ सयका दरले, कक्षा ६ देखि १० सम्मका १५ जनालाई एक हजार, कक्षा ११ र १२ पढ्दै गरेका ४ जनालाई एक हजार ५ सयका दरले उपलब्ध गराइएको अन्नपूर्ण उच्च माविका प्रचार्य दिपक सापकोटाले जानकारी दिए ।
२०७४ साल जेठ २६ गते प्रकाशित