

केशव दुवाडी –
संघीय गणतान्त्रिक नेपालको संविधान जारी भए पछि नेपालमा स्थानीय तहको प्रथम चरणको निर्वाचन सम्पन्न भएको छ । देशका केही स्थानमा थोरै हिंशात्मक घटना भएपनि समग्रमा पहिलो चरणको चुनाव शान्तिपूर्ण रुपमै सम्पन्न भएको मान्न सकिन्छ ।
धादिङ जिल्लामा पनि छिट पुट घटना बाहेक चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । २० बर्ष पछि भएको यो स्थानीय चुनावले जनताहरुमा उत्साहका साथै केही मन मुटाव पनि पैदा गरेको छ । यसै सन्दर्भमा जिल्लाको ज्वालामखी गाउँपालिकाको चुनाव सम्पन्न भै सके पछि यौटा दुखद घटना हुनपुग्यो जसमा परी नवनिर्वाचित गाउँपालिका अध्यक्ष विनोद तिमलसेना सहित ७ जना घाइते भएका छन् । घटना जसले घटाए पनि जसरी घटेको भएपनि यो सारै दुखद छ । निर्वाचित जन प्रतिनिधि र सर्वसाधरण महिला र बालबालिका समेत घाइते हुनु हामी सिंगो गाउँपालिका बासीका लागि लज्जित पार्ने र नरमाइलो कुरा हो ।
घटना पछि पार्टीका कार्यकर्ता तथा सञ्चारकर्मीहरुले एक अर्कालाई आक्षेप, पत्याक्षेप गर्ने, उत्तेजित पार्ने खालका कुराहरु सामाजिक सञ्जालमा छरपष्ट पार्नु गालि गलौजका भाषाहरु प्रयोग गर्नुले झन नराम्रो सन्देश गैरहेको छ ।
यस्ता घटानाहरु पार्टीहरुले निर्णय गरेर सुनियोजित तरीकाले घटाएका हुदैनन् । कार्यकर्ताहरुको विचमा हुने अनावश्यक तडक भडक, भानावैरी र रिस इवीका कारण यस्ता घटनाहरु हुने गर्दछन् । तसर्थ यस्ता घटनालाई राजनितीक रंग दिने कार्यकर्ताहरुलाई उक्साउने कुरा कहीँ कतैबाट पनि गर्नु हुदैन ।
युवाहरु राजनीतिक कार्यकर्ता हुनु पर्छ, नेतृत्व पनि लिनु पर्दछ तर कुनै पनि विवाद र झगडाको लागि राजनितिक दलको हतियार बन्नु हुदैन । किनकी युवाहरुको अगाडि आफ्नो करियर र भविष्य छ । यस्ता खाले हुल हुज्जत, दंगा तथा मारपिटमा सहभागी हुँदा विभिन्न कानुनी झमेलामा फस्न सकिन्छ जसका कारण पुलिसको रेकर्डमा खराब काम गर्नेको सूचिमा परि भविष्यमा अध्ययन, रोजगार तथा अन्य कार्यका लागि विदेश जानु पर्दा पुलिस रिपोर्ट खराब भई त्यस्ता अवसरबाट समेत बञ्चित हुनु पर्ने अवस्था आउन सक्छ ।
राजनीतिक दलहरुका नेताहरुले पनि युवाहरुलाई उत्तेजित पार्ने भन्दा उनीहरुलाई रचनात्मक राजनीतिक सँस्कार तर्फ उन्मुख गराउनु पर्दछ । विपक्षीहरु प्रति तुच्छ आरोप, गालि गलौज तथा चरित्र हत्या गर्ने खालका कुरा भन्दा आफ्नो पार्टीको सैद्धान्तिक कुराहरु, कार्यक्रमहरुको व्याख्या विश्लेषण गरेर आफ्नो चुनावी प्रचार प्रसार गर्नु पर्ने हुन्छ ।
बहुदलीय प्रतिस्पर्धाको चुनावी राजनीति शुरु भएको २५ बर्ष विति सक्दा पनि हामीले हाम्रो राजनीतिक सँस्कारलाई लोकतान्त्रीकरण गर्न नसक्नु, विचारको राजनीति भन्दा हिंसालाई प्रश्रय दिनु र झडपहरु भैरहनु भनेको हाम्रा नेताहरुको असफलता हो । कार्यकर्ताहरुलाई निष्ठाको राजनीति सिकाउनका लागि आफू पनि निष्ठावान हुन जरुरी छ । नेताको राजजीतिक जीवन, उनका गतिविधिहरु पारदर्शी बनाउन पर्ने देखिन्छ । चुनावमा भए गरिएका खर्चहरुको श्रोत केहो ? तामझाम भोज भतेर गर्ने पैसा कहाबाट आउँछ ? यी कुराहरुलाई जिम्मेवार जनताहरुले नियाली रहेका हुन्छन् ।
कार्यकर्ताहरुलाई भिडाउने, अनावश्यक तामझाम र खर्च गर्ने, झुठा आश्वासन गर्ने जस्ता प्रकृयाबाट चुनाव जित्ने राजनीतिले कहिल्यै पनि हाम्रो देशको विकास हुन सक्दैन ।
चुनाव कार्यकर्ताहरुलाई उक्साएर मारपिट गर्न लगाउने र आफ्नो सरकार र सत्ता भएको बेलामा विपक्षी पार्टीका कार्यकर्ताहरुलाई पुलिस प्रशासनलाई दवाव दिएर कार्बाही गराउने र आफ्ना कार्यकर्ताको गल्ति भए पनि जोगाउने सँस्कार कुनै पनि पार्टीले गर्नु गराउनहुदैन किनकी यसले सबै पार्टीको कार्यकर्तालाई हानी गर्छ । एउटाको सरकार भएको प्रशासनलाई दबाब दिएर गराउने कुरा अर्काका हातमा सरकार जाँदा पनि दोहोरिन्छ । यसले गर्दा राज्यका प्रशासनिक तथा सुरक्षाका निकायहरुमा पनि नराम्रो प्रभाव पर्न जान्छ र कानुनी राज र विधिको शासन हुन सक्दैन ।
अनि लोकतान्त्रिक प्रणाली कसरी सुदृढ हु सक्छ ? त्यसैले कुनै पनि हिंसात्मक घटना हुन्छ भने दोषी पक्षहरुको छानबीनका लागि प्रहरी प्रशासनलाई सबैले सहयोग गरी दोषीलाई कानुनी सजायँको दायरामा ल्याउन मद्दत गर्नु पर्दछ । घटनालाई राजनीतिक रंग दिएर प्रचार बाजी गर्ने, कार्यकर्तालाई भिडन्तमा उतार्ने खालका अभिव्यक्ति दिने, प्रहरी प्रशासनलाई अनुचित दबाब दिने जस्ता कुराहरु राजनीतिक दलका नेताहरुले कदापी गर्नु हुदैन ।
अर्को कुरा चुनाबलाई शान्ती पूर्ण रुपमा जन प्रतिनिधि छान्ने उत्सब बनाउन राजनितिक दलले क्षमा र मेलमिलापको नीति अबलम्बन गर्नु पर्ने हुन्छ । जसमा कुनै पनि अप्रीय घटा घट्न नदिने घटना घटी हाल्यो भने निष्पक्ष छानबीन गरी दोषीलाई कानुनी कार्बाहीको दायरामा ल्याउने । तर त्यसलाई तुषको रुपमा इगोको रुपमा नलिई घटनालाई बिर्ष र क्षमा देउ अनि आगामी दिनमा शान्तिपूर्ण तरिकाले हिँड भन्ने मान्यतामा हामी सबै लाग्नु पर्दछ । यही नै लोक तन्त्रको, यही नै राजनीतिक सँस्कार हो सबैलाई चेतनाभया ।
२०७४ जेठ १९ गते प्रकाशित