१९ बैशाख, धादिङ –
परिवार नियोजनका साथै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै एचसीथ्रि परियोजनाले धादिङको ज्वालामुखी गाउँ पालिका अन्र्तरगत ढोला स्वास्थ्यचौकीका स्वास्थ्य स्वयम सेविका, स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई सम्मान गरेको छ ।
साथै स्वास्थ्यचौकीका प्रमुख, स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी, गाविसका ९ औटै महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गरेको छ । अहोरात्र स्वास्थ्य सेवामा खटेर ढोला गाविसका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेको भन्दै सम्मान पत्रको साथ सम्मान गरेको हो । आफुहरुलाई यस्ताखाले सम्मानले स्वास्थ्य सेवामा लाग्न थप उत्प्रेरणा मिलेको भन्दै कार्यक्रममा सम्मानित हुनेहरुले एचसिथ्रि परियोजनालाई धन्यावाद दिएका थिए ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका पूर्व अध्यक्ष ईन्द्रमान शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमकै अवसरमा प्रमुख अतिथि वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले स्वास्थ्य सेवामा लाग्छु भनेर कसम खाएपछि जनताको स्वास्थ्य सेवामा एकाग्रह भएर लाग्न आग्रह गरे।
जनताको स्वास्थ्य सेवाको संवेदनसिलतालाई ध्यानमा राखी काम गर्नुपर्ने बताए । विद्यालयमा समन्वय गरि विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षाको साथमा स्वास्थ्य परिक्षण गरि विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नपनि आग्रह गरे । ढोला स्वास्थ्यचौकीमा परिवार नियोजनको साधन प्रयोग गर्नेको संङ्ख्या ४७ प्रतिशतबाट बढेर ५७ प्रतिशतमा पुगेको स्वास्थ्य चौकीका प्रमुख अलिअकबर हुसेनले बताएका छन् ।
विगतका वर्षहरुमा भन्दा यो वर्ष १० प्रतिशते वृद्धि गराउन सफल भएको हुसेनले बताउनुभयो । एचसिथ्रि परियोजना संञ्चालन भईसके पश्चात परिवार नियोजनको क्षेत्रमा यो वृद्धि हासिल गर्न सफल भएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम निरन्तर रुपमा संञ्चालन गर्नुपर्ने सुझाव दिए ।
जिल्लाकै तेस्रो पूर्णखोपयुक्त गाविस घोषण भएको ढोला स्वास्थ्यचौकीले अहिले पेन प्याकेज कार्यक्रम, सुगर रोगको परिक्षण तथा परिवार नियोजनको ५ प्रकारको अस्थायी विधिहरु कण्डम, पिल्स, डिपो, ईम्प्लान्ट र आईयूसिडि सेवा नियमित रुपमा उपलब्ध गराउँदै आएको छ । एचसिथ्रि परियोजनाले नेपाल सरकार सुचना तथा संचार मन्त्रालयको समन्वय तथा अमेरीकी सहयोग नियोग यूएसएडको आर्थिक तथा प्राविधिक सहयोगमा परिवार नियोजन, स्मार्ट बन्छ जीवन संञचार अभियान देशैभर संचालन भईरहेको छ ।
पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने ३ महिने सुई डिपो लगाउने ८ हजार १ सय ३६ जना, ईम्प्लान्ट लगाउने ४ हजार ९९ जना, खाने चक्की प्रयोग गर्ने २ हजार ४ सय ४५ जना, आईयूसिडि प्रयोगकर्ता २ हजार ३ सय ८४ जना तथा महिला र पुरुष स्थायी बन्ध्याकरण गर्ने ११ हजार ४ सय ७८ जना, कण्डम प्रयोग गर्ने २ हजार ६ सय २८ जना गरि अहिले जिल्लामा ३१ हजार १ सय ७० जनाले परिवार नियोजनको स्थायी तथा अस्थायी साधन प्रयोग गरेका छन् । तथ्याङ्क अनुसार परिवार नियोजनको साधन प्रयोग गर्नेमा पुरुषको तुलनामा महिला बढी रहेको देखिएको छ ।
२०७४ बैशाख १९ गते प्रकाशित