Fri. Jan 31st, 2025

कोइरालालाई क्यानको कार्यवाहक जिम्मेवारी

can-log_219385254_802606456

काठमाडौ

दीपक कोइराला नेपाल क्रिकेट संघ (क्यान) को नयाँ कार्यवाहक अध्यक्ष बनेका छन् । तीन दिन लगाएर बिहीबार सकिएको क्यानको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष टंक आङबुहाङसहित अन्य १० माथि भ्रष्टाचारको मुद्दा लगाएपछि तारिणीविक्रम शाह क्यानको कार्यवाहक अध्यक्ष बनेका थिए । शाहको तीन साताअघि निधन भएको थियो । शाह अस्वस्थ भएपछि उपाध्यक्ष श्रीनिवास राणाले क्यानको कार्यवाहक अध्यक्षको भूमिका निभाउँदै आएका थिए ।

बोर्ड बैठकमा राणा उपस्थित भएनन् । कार्यवाहक महासचिव उत्तम कर्माचार्यका अनुसार राणा सम्पर्कमा नरहेका कारण बैठकमा उपस्थित थिएनन् । तीन वर्ष अगाडि चितवनमा भएको निर्वाचनबाट राणा उपाध्यक्षमा चुनिएका थिए । त्यसपछि क्यानले कोइराला र केशव घिमिरेलाई उपाध्यक्षमा मनोनयनमा गरेको थियो । तिनै कोइराला क्यानको नयाँ कार्यवाहक अध्यक्ष बनेका हुन् ।

त्यस्तै सदस्य शैलेशकुमार चौधरीलाई क्यानले कार्यवाहक कोषाध्यक्ष बनाएको छ । यसअघिका कार्यवाहक कोषाध्यक्ष दिवाकर घलेलाई पदविहीन बनाइएको छ । जेठमा अख्तियारको निर्णयपछि सदस्य घले कोषाध्यक्ष बनेका थिए । कर्माचार्यका अनुसार घलेले घरायसी कार्यव्यस्तताले गर्दा पर्याप्त समय दिन नसक्ने जनाएपछि चौधरीलाई नयाँ जिम्मेवारी दिइएको बताए ।

नयाँ सोचका साथ अगाडि बढ्न यस्तो निर्णय लिएको कर्माचार्यले बताए । बोर्ड बैठकले विभिन्न उपसमिति गठन गरेको छ । जसअनुसार कोइराला कार्यसम्पादन समितिको संयोजक छन् ।

त्यस्तै २०१९ को विश्वकपमा छनोट हुने उद्देश्य बनाई मिसन २०१९ विश्वकप समिति बनाइएको छ । कोइराला संयोजक रहेको सो समितिमा कर्माचार्य, चौधरी, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान सदस्य तथा क्यानका प्रमुख कार्यकारी अधिकृत सदस्य सचिव रहनेछन् । क्यानले एक वर्षका लागि जगत टमाटालाई पुरुष यू-१९ र श्यामसङ्गजंग थापालाई महिला टोलीको प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।

फागुन २४ देखि पुरुष राष्ट्रिय एकदिवसीय र ट्वान्टी(ट्वान्टी तथा फागुन १२ गतेदेखि सर्लाहीको हरिवन र सिरहाको लहानमा अन्तरस्कुल महिला राष्ट्रिय प्रतियोगिता गर्ने बोर्ड बैठकले निर्णय गरेको छ ।
इकान्तिपुर अनलाइनबाट

About The Author

अन्य समाचारहरु: