२७ माघ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्डलाई आफूहरुसँग नआत्तिन र नडराउन आग्रह गरेका छन् । एमाओवादीलाई बल्छी हानेर जालमा पार्नका लागि शान्ति प्रक्रियामा ल्याएको नभई राजनीतिको मूलधारमा ल्याउन चाहेको ओलीले स्पष्ट पारेका छन् ।
राष्ट्रिय राजनीतिको केन्द्रभागमा रहेका एमाले अध्यक्ष ओलीले एमाओवादीसँग वार्ताका लागि प्रधानमन्त्रीले गरिरहेको पहललाई सकारात्मक बताएका छन् । आफूले पनि एमाओवादी नेताहरुसँग कुराकानी गर्न उपयुक्त समयको प्रतिक्षा गरिरहेको ओलीको भनाइ छ ।
अनलाइनखबरका लागि मात्रिका पौडेलसँगको अन्तरवार्तामा ओलीले आफू आदिवासी, मधेसी जा जनजातिको विरोधी नभई १२५ जातजातिको साझा पहिचानको पक्षमा रहेको दाबीसमेत गरे ।
तपाईसँग प्रचण्ड केही डराएजस्तै देखिन्छन्, एमाओवादीलाई आश्वस्त पार्न एक कदम लचिलो बन्न सक्नुहुन्न ? आखिर दुई कदम अघि त बढिसक्नुभएको छ ?
छैन छैन । न म अगाडि बढ्या छु, न ब्याक भएको छु । मैले भन्ने कुरा के हो भने हामीले उहाँहरुलाई शान्ति प्रक्रियामा आउन भन्यौं, ल्यायौं, उहाँहरु शान्ति प्रक्रियामा आउनुभयो । हाम्रो यो प्रयास कुनै धोका होइन । यो हामीले उहाँहरुलाई कुनै बल्छी फ्याँकेको, जालमा पारेको होइन ।
तर, लचिलो बन्नुपर्यो नि ?
लचिलो फचिलो छाडिदिनोस् न । हामीले उहाँहरुलाई ल्याएको कुनै धोका दिनलाई या प्रतिशोध लिनलाई होइन । उहाँहरुलाई हामीले मेन स्ट्रिमिङ गर्न खोज्या हो, शान्तिपूर्ण बाटोमा र लोकतान्त्रिक बाटोमा । हामी कुनै आवेश उत्तेजनामा छौं र ? हामी त खास उद्देश्यमा केन्द्रित छौं जो टसमस हुँदैनौं ।
अब उहाँहरुले हामीसँग सशंकित हुनुपर्ने, भयभित हुनुपर्ने कुनै कारण छैन । म एस्योर गर्न चाहन्छु । हामीले उहाँहरुका गलत चिन्तन र व्यवहारको आलोचना गछौं, उहाँहरुप्रति हाम्रो कुनै दुश्मनीपूर्ण व्यवहार हुँदैन, छैन । प्रतिशोधी व्यवहार हुँदैन, छैन ।
पछिल्लो कोर्समा एमाओवादीसँग कुनै सहमतिको सम्भावना देख्नुहुन्छ ? प्रधानमन्त्रीको वार्ताको आह्वानलाई उहाँहरुले अमूर्त भनेपछि अब फेरि वार्तामा बस्दैहुनुहुन्छ कि ?
अहिले ठीक छ । प्रधानमन्त्रीले आह्वान गर्नुभो । अब फेरि मूर्त, अमूर्त… के त्यहाँ ढुंगाको मूर्ति खोज्ने मूर्त ? मूर्त अमूर्तका कुरा छाड्दिएर उहाँहरु वार्तामा आउनु राम्रो हुन्छ । प्रधानमन्त्रीले कुराकानी गर्नुहोला ।
तपाईले वार्ताको सम्भावना देख्नुहुन्छ ?
अनुकूल हुँदै गयो भने मैले पनि कुरा गर्ने कुरा हुन्छ ।
अहिले तपाईसँग एमाओवादी नेताहरुको अनौपचारिक सम्वाद भएको छ कि छैन ?
म अनुकूल समयको प्रतिक्षामै छु ।
सहमतिको बाधक बनेको अपजसे भारी बोकेर हिँड्नुभन्दा एकपटक लचिलो बन्दा तपाईको के जान्छ ?
म सहमतिको पक्षमा छु । सत्तापक्ष सहमतिको पक्षमा छ ।
प्रधानमन्त्रीको भूमिका नि ?
सकारात्मक छ । सहमतिको पक्षमा छ ।
उहाँले लिएको पहलकदमीबाट तपाई सन्तुष्ट हुनुहुन्छ ?
सहमतिका लागि प्रयास गर्नु राम्रै हो नि ।
सहमतिका लागि विजय गच्छदारले माघ ८ गते राति राखेको प्रस्तावबाट अघि बढ्ने कुरामा तपाईको धारणा के हो ?
उहाँले त्यो कुनै नयाँ प्रस्ताव ल्याउनुभएको होइन । भइसकेका कुरा नै उहाँले ल्याएको हो । अब सहमति गर्नका लागि त्यसबाट प्रस्थान गर्न सकिन्छ, त्यसमा मैले हुँदैन भनेको छैन ।
राष्ट्रको नेता बन्न खोज्दा एउटा जाति समुदायको मात्र नेता बन्नु पर्ने हो कि भन्ने डर तपाईलाई छैन ? आदिवासी जनजाति, मधेसीहरुको मन दुखाएँ कि जस्तो लाग्दैन ?
म तराईका, पहाडका सबै जाति धर्मका जनतालाई अधिकार सम्पन्न बनाउने, तिनको उन्नति गर्ने र पहिचान दिने बिचार र व्यवहारका साथ काम गर्छु
मैले राष्ट्रको एकता, राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव, उत्पीडित, उपेक्षित र अल्पसंख्यकहरुलाई अधिकार दिने कुरा गर्दा कुनै जाति समुदायको चित्त दुख्छ र ? सबैभन्दा धेरै आदिवासी जनजातिको प्रतिनिधित्व भएको पार्टी एमालेको अध्यक्ष भएर मैले बोलेको हुँ ।
तपाईले भनेजस्तो केही मान्छेमा अलि-अलि अन्योल हुन सक्छ, कतिपयलाई भ्रम पारिएको हुन सक्छ । त्यस्तो अन्योललाई पनि हामी स्पष्ट पार्छौं । पार्टीले कार्यक्रम बनाउँछ, योजना बनाउँछ र म आदिवासी जनजाति, मधेसीलगायत सबै समुदायभित्र रहेको अन्योल हटाउन गाउँ, जिल्ला पस्छु ।
बहुजातीय पहिचान पनि तपाईले नमान्दा सहमति भएन भन्ने प्रचण्डको गुनासो छ, तपाई किन यति कठोर ?
जाति-जातिका बीचमा मारकाट मच्चाउने आधार बनाउन पाउने हो भने मिल्न सकिन्छ भन्ने कुरा आयो । त्यो कुरा त केपी ओली बाँचुन्जेल कसरी सम्भव हुन्छ र ? साम्प्रदायिक विद्धेष फैलाउने, मारकाट मच्चाउने, यो जात र ऊ जात भनेर जनतालाई भिडाउने नियतसँग सहमति हुन सक्दैन ।
हो, सबैको पहिचानका लागि काम गर्ने हो भने सहमति हुन सक्छ । दुई-तीन जातलाई राज्य दिने, अरुलाई पख पख भन्दै ढाँट्ने राजनीति केपी ओलीले जानेको छैन । सत्य कुरा भन्ने हो, केही दिन केही मान्छेको चित्त दुखे पनि पछि सबै प्रष्ट हुन्छन् । म सबै जातजाति, भाषाभाषीहरुको पहिचान स्थापित गर्ने पक्षमा छु । यसमा सबै आदिवासी जनजाति, मधेसी, दलित, अल्पसंख्यक, उत्पीडितलगायत सबै वर्गका जनता प्रष्ट हुन जरुरी छ ।
तराईका पाँच जिल्लाको विवाद पनि तपाईकै कारण सल्टिएन भन्दैछन् मान्छेहरु….. वास्तविकता के हो ?
पाँच जिल्ला ? (आक्रोश मिश्रित) क्या हो पाँच जिल्ला ? कसलाई चाहियो पाँच जिल्ला ? को हो पाँच जिल्लाको धनी ? कुन जमिन्दारलाई चाहियो पाँच जिल्ला ? त्यहाँका जनता, त्यहाँका जनप्रतिनिधिले भन्ने कि, अर्कै ठाउँको मान्छे आएर मलाई यही चाहिन्छ, नत्र सहमति हन दिन्न भन्ने ? यस्ता जमिन्दारी तर्कसँग केपी ओली झुक्छ भन्ने कसैलाई लाग्छ भने, ठूलो भ्रम हो । त्यो भ्रमबाट मुक्त भए हुन्छ ।
पाँच जिल्ला झापा मोरङ, सुनसरी, कैलाली कञ्चनपुरका जनता र जनप्रतिनिधिले जे भन्छन्, त्यही हुन्छ । ती जमिन्दारले के भनेको त्यो ? पाँच जिल्ला चाहिन्छ रे…(हाँस्दै)
मधेसी मोर्चासँग त तपाईको सम्बन्ध निकै चिसियो होइन ?
म तराईका, पहाडका सबै जाति धर्मका जनतालाई अधिकार सम्पन्न बनाउने, तिनको उन्नति गर्ने र पहिचान दिने बिचार र व्यवहारका साथ काम गर्छु । तराईमा सामन्ती प्रथा सबैभन्दा जबर्जस्त छ । त्यहाँको सामन्ती प्रथाले त्यहाँका दलितहरु, उत्पीडितहरु, अल्पसंख्यक समुदाय, भूमिहीनहरुलाई अत्यन्तै दमनमा राखेको छ । अहिलेसम्म पनि तराईमा त्यहाँका शोषित पीडितको आवाज मुखरित हुन पाएको छैन । तराईका टाठाबाठा र जमिन्दारको हातमा तराईको राजनीति घुमिरहेको छ । म र मेरो पार्टी तराईका जनता, तराईको उत्पीडित समुदायको जीवनस्तर उठाउनुपर्छ भनेर काम गरिरहेका छौं । मेरो बिचारमा अब सरकारले चमार दुषाध, डोमजस्ता तराईका सबैभन्दा उप्पीडितका सन्तानलाई १२ कक्षासम्म आवासीय र निःशुल्क अनिवार्य शिक्षा प्रदान गर्नुपर्छ ।
अहिले तराई मधेशमा तराईको जिम्दारी अभियानको कुनै अर्थ छैन । गरीव जनताका निम्ति जिम्दारी अभियानले केही बोलेको छैन । मैले यति भनें नि, मलाई थाहा छ अब, मधेसको ठेक्का लिएका जिम्दारहरु बुरुक्क उफ्रन्छन् । ओलीले तराईको कुरा बोल्ने ? भनेर कराउँछन् । हेर्नुहोला ।
तर, कतिपय मधेसी नेताहरु त तराई मधेसमा ओली आउन् मात्रै, हामीले देखाउँछौं भन्दैछन् नि ?
हा हा हा हा । म डराउने तराईमा जान ? को मधेसी नेता ? कुन मोर्चा ? तराईमा एमालेले ३७ सीट जितेको छ, मधेसी मोर्चा भनिएका ११ कि १९ दले जम्मा ११ सिट जितेका छन् । कसले कसलाई देखाउने ? यस्ता कुरा नगर्नु बेस ।
राजविराजतिर त एमालेलाई हल्का देखाइसके नि होइन ?
जनजाति, मधेसीभित्रका जमिन्दार तथा सामन्तहरुले मेरो बिरोध गर्दैमा म पछि हिँड्दिन, म बहुपहिचानको पक्षमा छु
ल, कस्तो कुरा गर्नुहुन्छ ? मलाई संविधानसभाभित्रै माइकले ड्याम्म हाने । तर, त्यो नै निर्णायक होइन । लुकेर हान्दैमा सम्मेलनकेन्द्र नै उनीहरुको भयो त ? उपद्रवकारीहरुले राजविराजमा एमालेको कार्यालय जलाए, लुटपाट गरे । एमालेका मधेसी तथा मधेसी दलित कार्यकर्ताहरुमाथि कुटपिट पनि गरे लुकेर । तर, त्यो सधैं चल्दैन । एमालेले हात उज्यायो भने धेरैको धूलोपीठो हुन्छ ।
उनीहरुले राजबिराजमै किन त्यसो गरे ? त्यो पनि म तपाईलाई भन्दिन्छु । सप्तरीका गरीव दलित समुदायबाट माथि उठेका सत्यनारायण मण्डललाई एमालेले स्थायी कमिटीमा ल्यायो । एमालेको सबैभन्दा माथिल्लो निकायमा गरीव, त्यसमा पनि उत्पीडित जातिको मान्छे पुगेपछि तराईका जिम्दारीहरुको पारो चढ्यो । दलित भएर सभासद हुने ? ठूलो पार्टीको, ठूलो नेता हुने ? उनीहरुलाई त्यो सैहृय भएन । त्यसपछि उनीहरुले सत्यनारायण मण्डललाई जिल्ला प्रवेशमा रोक लगाउने भने । किनकि मण्डल माथि गएपछि जिम्दारहरुको राजनीतिलाई धक्का लाग्ने भयो । यसबाट पनि मधेसी मोर्चाको राजनीति बुझ्न पर्याप्त हुन्छ ।
तपाईका कतिपय अभिव्यक्तिले आदिवासी जनजाति वा पहिचान पक्षधर मानिसहरु भड्किन्छन् जस्तो लाग्दैन ?
जनताको चेतना कसैले भड्काएर भड्किने स्तरको छैन । जनतालाई चानचुनै सोच्नुहुँदैन । जहाँसम्म केही मान्छेहरुको कुरा छ, मैले छलकपटपूर्ण ढंगले मान्छेलाई गुमराहामा राखेर उक्साएर कुनै समुदायको नेता हुुनु छैन । म देशको नेता हो, मेरो क्षेत्र पहाड, तराई, मधेश, हिमालभन्दा पनि सिंगो देश हो । ठाउँ, जात हेरेर म बोल्दिँन, देशको हित जेमा छ त्यहि बोल्छु । त्यस्तो बोल्दा केही कालसम्म कतिपय मान्छे रिसाउन पनि सक्छन् । तर, उनीहरुको भावनामाथि खेलेर ढाँटेर नेता हुनुभन्दा सत्य बोल्न मलाई ठीक लाग्छ । सत्य तीतो हुन्छ । तर, वास्तविकता त्यही हुन्छ ।
तर, आदिवासी जनजातिका अगुवाहरुले तपाईको विरोध…?
बीचमै रोकेर.. कुन कुन ढाडिएका किर्ना कसरी पल्टिन्छन्, म मतलब गर्दिँन । यो देशका आदिवासी जनजाति, अल्पसंख्यक लोपोन्मुख सीमान्तकृत समुदाय, मधेसी जनता, मधेसी दलित, भूमीहीनलगायत सबै जनतालाई समान अवसर दिने अभियानमा लागेको छु । यस्तोमा लाग्दा एउटा पाखोबाट हेर्दा अर्कोले एकतर्फीमात्र देख्नु स्वभाविक कुरा हो । तर, एमालेमा जति आदिवासी जनजातिको प्रतिनिधित्व अरु पार्टीमा देखाउन् न त । एमालेमा जति मधेसीको समावेशी प्रतिनिधित्व अन्त खोइ त ? हामी यसलाई अझ ब्यापक बनाउदैछौं । म सबै नेपाली जनताको पहुँच, पहिचान र आत्मसम्मानको कुरा गर्दैछु । केही मान्छे सीमित जातिको कुरा गर्छन्, यहीँनेर कुरा मिल्दैन । तर, आम आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम सबै समुदायले एमालेको नेतृत्वलाई भरोसा गरेका छन् । केही दुई चारजना मान्छे त सधैं मेरो बिरोधमा हिँडेकै हुन्, नचिनेका अनुहार हुन र मैले तिनले के भन्छन् भनेर वास्ता गर्नुपर्ने ?
तर, तपाईको भाषणमा पहिचानको प पनि आउँदैन, अनि मान्छेहरु त भड्किने भइगए नि ?
म मान्छेलाई भेट्नेबित्तिकै जात सोध्दिँन । लौ यो राज्य तँलाई भनेर गलत र असम्भव आश्वासन दिन्न । त्यसो गरे पहिचानवादी भइने रहेछ क्यारे । म त यो देशका सबै १ सय २५ जातजातिहरुको साझा पहिचान झल्किने मुलुक निर्माणको पक्षमा छु । यो देश अल्पसंख्यक समुदायहरुको देश हो, यहाँ कसैले दिने र लिनेभन्दा पनि सबैको पहिचान साझा पहिचान नेपाल हो भनेर बस्ने हो । नेवारको जनसंख्या पुग नपुग ६ प्रतिशत छ । त्यसमध्ये काठमाडौंमा ३ प्रतिशत पनि छैनन् । यो देशका अधिकांश बजार स्थापित गर्ने भनेका नेवार हुन् ।
सत्य कुरा गर्दा, राष्ट्र र जनताको पक्षमा अडान लिँदा कहिले एक्लै भइन्छ, कहिले ठूलो जनसमर्थन पाइन्छ
ताप्लेजुङदेखि दार्चुलासम्मका बहुसंख्यक नेवारको हित काठमाडौंलाई नेवा राज्य बनाएर हुन्छ कि, जनसंख्याको अनुपातमा अवसर र प्रतिनिधित्व दिएर हुन्छ ? मेरो पहिचानको एजेण्डा भनेको यो हो ।
मलाई राम्रोसँग थाहा छ, यो देशका आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिमलगायत सबै जनताको भावना मेरो जस्तै छ । केही मान्छेलाई राज्य दिन्छु भन्दैमा दुईचार जना मान्छे उफार्न सकिएला, तर त्यो टिक्दैन ।
जनजाति, मधेसीभित्रका जमिन्दार तथा सामन्तहरुले मेरो बिरोध गर्दैमा म पछि हिँड्दिन, म बहुपहिचानको पक्षमा छु । म शाब्दिक प्रशंसा गर्ने धोकापूर्ण खेल खेल्दिँन । अरु पहिचानको राजनीति गर्छन्, म उत्पीडित समुदायलाई पहिचान दिन्छु, सत्यनारायण मण्डलको पहिचानले तराईका जमिन्दारको टाउको दुखाइले नै सबै कुरा प्रष्ट हुन्छ ।
तर, तपाईले लिएका अडान र तपाईका अभिव्यक्तिका कारण नेपाली समाज तपाईका बारेमा प्रष्ट दुईधारमा बिभाजित छ भन्ने लाग्दैन ? अनलाइनखबरकै जनमत सर्वेक्षणमा पनि तपाईको पक्षमा धेरै मत आए पनि तटस्थ मत नदेख्दा त्यस्तो लाग्दैन ?
सन्तका बारेमा पनि समाज विभाजित छ, भगवानका बारेमा पनि समाज विभाजित छ । विश्वास, आस्थाका बारेमा विभाजित छ । यो त स्वभाविक कुरा हो । सत्य कुरा गर्दा, राष्ट्र र जनताको पक्षमा अडान लिँदा कहिले एक्लै भइन्छ, कहिले ठूलो जनसमर्थन पाइन्छ ।
मान्छेहरु तटस्थ हुन सक्दैनन् । एउटा कुरा के भने टुटाफुटा जिम्दारी र देशलाई साम्प्रदायिक आगोमा झोस्ने प्रवृत्तिलाई भौतिक रुपमा र मनोगतरुपमा टुंग्याउनुपर्छ ।
अनलाइन खबरबाट…